नारायणकाजी श्रेष्ठ परराष्ट्र निकट रहिरहने, भोलिन्टियरका लागि निवेदन हाल्दै

नारायणकाजी श्रेष्ठ परराष्ट्र निकट रहिरहने, भोलिन्टियरका लागि निवेदन हाल्दै
सुन्नुहोस्

निवर्तमान उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकार बाहिर रहेर पनि आफूले परराष्ट्र मन्त्रालय निकट रहेर काम गर्ने बताउनुभएको छ । 

आज अपरान्ह मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा बोल्दै उहाँले मुलुकको परराष्ट्र नीतिलाई सही ढंगले अघि बढाउन बाहिर बसेर पनि सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ । त्यसका लागि आफू स्वयंसेवीको रुपमा काम गर्न तयार रहेको उहाँको भनाई छ । 

‘परराष्ट्र मन्त्रालयसँग त म अन्तरंग निकट रहन्छु । ताकि परराष्ट्र मन्त्रालयले परराष्ट्र सम्बन्धलाई सही ढंगले अघि बढाओस् । कूटनीतिक अभ्यास सही ढंगले गरोस्’, निवर्तमान उपप्रधानमन्त्रीले भन्नुभयो, ‘त्यसको निम्ति आफ्नोतर्फबाट तपाईंहरुसँग निकटमा रहेर छलफल गर्ने र समाधानका प्रयत्नहरु गर्ने । यसलाई उन्नतस्तरमा अहिलेको आवश्यकतालाई मिट गर्नसक्ने परराष्ट्र मन्त्रालयको रुपमा विकसित गर्ने काममा म तपाईंहरुको साथमा रहनेछु ।’

राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउन आफ्नो कार्यकालमा सक्दो पहल भएको दाबी गर्दै श्रेष्ठले अब पनि त्यसमा योगदान गर्न चाहेको उल्लेख गर्नुभयो । परराष्ट्र नीतिको पक्षमा आफूले सदैव सम्बन्धित पक्षहरुसँग छलफल, संवाद र अन्तरक्रिया गर्ने उहाँको भनाई छ ।

‘मैले त भनेको पनि थिएँ, अर्को मन्त्री जो आउनु होला । एउटा निवेदन त मैले हाल्नुपर्ला जस्तो छ । मलाई भोलेन्टियर भएपनि सल्लाहकार भएपनि बनाउनु न !’, जातेजाते निवर्तमान उपप्रधानमन्त्रीले ठट्यौली पारामा भन्नुभयो, ‘पूरै समय त म दिन सक्दिन । मान्छे के–के गर्ने तपाईं गर्नुस् । सिष्टम स्थापित गरिदिन्छु भन्ने पनि हुन्छ । तर केही कामहरु छ यो मन्त्रालयको । त्यसलाई पूरा गर्न मलाई तपाईंको भोलेन्टियर बनाउन न भन्न मलाई मन लागिरहेको छ ।’

टिप्पणीहरू