साउनमा भनिएको स्वास्थ्य बीमा बोर्डको परिमार्जित सुविधा भदौ १ गतेदेखि

साउनमा भनिएको स्वास्थ्य बीमा बोर्डको परिमार्जित सुविधा भदौ १ गतेदेखि

स्वास्थ्य बीमा बोर्डको सुविधा थैलीअन्तर्गतका सेवा सुविधाहरुको नयाँ दररेट भदौदेखि मात्र लागू हुने भएको छ । यसअघि साउन १ गतेदेखि लागू हुने भनिएपनि बोर्डले भदौ १ गतेदेखि मात्र लागू हुने जानकारी दिएको छ । 

सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले नयाँ दररेट लागू गर्न समग्र प्याकेजको अध्ययन र प्राविधिक तयारीका साथै व्यवस्थापन गर्न समय लाग्ने भएकोले समय थपको अनुरोध गरेकोले सोहीअनुरुप बोर्डले एक महिना थप गरेको जनाएको छ । 

बोर्डद्वारा जारी सूचनामा उल्लेख छ, ‘सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले नयाँ पद्धति तत्काल लागू गर्न कठिन हुने भनी समय थपको अनुरोध हुन आएकोले परिमार्जित सुविधा थैली मिति २०८१/०५/०१ गतेदेखि मात्र लागू हुने व्यहोरा जानकारी गराइन्छ ।’

सो अवधिसम्म पुरानै सुविधा थैलीमार्फत दाबी माग गर्न पनि बोर्डको अनुरोध छ । बोर्डले केही दिनअघि मात्र सुविधा थैलीअन्तर्गतका एक हजार दुई सय ९० प्रकारका औषधिको शुल्क तोक्दै नयाँ दररेट सार्वजनिक गरेको थियो । 

परिमार्जित दररेटअनुसार ओपीडी टिकट शुल्क ५० रुपैयाँ, इर्मेजेन्सी शुल्क एक सय रुपैयाँ, जनरल बेर्डचार्ज प्रतिदिन दुई सय ५० रुपैयाँ र शल्यक्रियामा बढीमा ७० हजार रुपैयाँ लिन पाइन्छ । यसबाहेक कतिपय सेवाहरु तोकिएको अवधिमा मात्रै गर्न मिल्ने गरी क्यापिङ नम्बरको व्यवस्था पनि बोर्डले गरेको छ ।

टिप्पणीहरू