प्रधानमन्त्रीले दोहोर्याउनुभयो मिर्गौलादाताको सन्दर्भ

प्रधानमन्त्रीले दोहोर्याउनुभयो मिर्गौलादाताको सन्दर्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध दर्शनमा दान र त्यागले ठूलो अर्थ राख्ने बताउनुभएको छ । आज राजधानीमा डा. अजय क्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शक’ पुस्तक लोकार्पण गर्दै उहाँले बुद्ध दर्शनले मानिसलाई नयाँ प्रकाश दिने उल्लेख गर्नुभयो ।

कसैले मिर्गौला दान गरेकै कारण आफूपनि आजसम्म बाँचिरहेको उहाँको भनाई छ । ‘मेरो किड्नी गयो, मलाई किड्नी आवश्यक भयो, मलाई कसैले किड्नी दिए’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म अहिले कसैले दान दिएको किड्नी लिएर हिँडिरहेको छु, दान कति महत्वपूर्ण रहेछ भन्ने त यसले देखिन्छ नि !’

उहाँले संसारमा दान गर्ने व्यक्तिहरु बुद्ध दर्शनबाट प्रेरित हुने र आफूलाई कसैले किड्नी दान नगरेको भए उहिल्यै संसारबाट बिदा भइसकेको हुने समेत बताउनु भयो । ‘किड्नी दान नगरेको भए त म उहिल्यै १७ वर्ष अगाडि, अहिले मेरो १७औं पुण्यतिथि हुन्थ्यो, त्यसैले दानले धेरै महत्वपूर्ण अर्थ राख्छ’, उहाँले थप्नुभयो । 

प्रधानमन्त्री ओलीले बुद्धको जन्म र बुद्ध धर्मको बिस्तार नेपालबाटै भएकोमा नेपालीहरुले गर्व गर्नुपर्ने पनि बताउनु भएको थियो ।

टिप्पणीहरू