होटलको कोठाबाट सुन्दरीहरुको ‘टु पिस’ फोटो कसरी बाहिरियो ?
कुनै महिलाको हकमा सौन्दर्य प्रतियोगिता जित्ने आधार के–के हुन् ? यतिबेला सामाजिक सञ्जालले सतहमा ल्याएको प्रश्न हो,यो । एकथरीको टिप्पणी छ-उचाइ,आकर्षक अनुहार र लोभलाग्दो ज्यानले महिलालाई सुन्दर देखाउँछ । अर्काथरी भन्छन्–महिलाको ज्ञान,विचार,क्षमता नै उसको वास्तविक सौन्दर्य हो ।
त्यसोभए सौन्दर्य प्रतियोगितामा बाजी मार्न महिलाको कुन पक्षले धेरै काम गर्ला ? यतिखेर यो बहसको विषय बनेको छ ।
दि हिडन ट्रिजरले आयोजना गर्दै आएको मीस नेपालको नयाँ संस्करण यतिबेला ग्राण्ड फिनालेको संघारमा छ । आगामी शनिवार ‘मीस नेपाल २०२४’ को ग्राण्ड फिनाले हुँदैछ । तर,पौडी खेल्दा लगाइने स्विमिङ कस्ट्युम लगाएर बन्द कोठाभित्र खिचिएको फोटो बाहिरिएपछि प्रतियोगिता विवादमा तानिएको छ ।
ललितपुरको हिमालय होटलमा गत बुधबार स्विमसुट फोटो खिचिएकोे थियो । प्रतियोगिताका अन्तिम २६ प्रतियोगीले उक्त पोशाक लगाएर क्याटवाक गरेका थिए । प्रतियोगिताको नाममा भर्खरका महिलालाई स्विमिङ कस्ट्युम पहिर्याएर क्याटवाक गर्न लगाएको भन्दै आलोचना भएपछि आयोजक विवादमा तानिएका छन् ।
‘पेन्टी मात्रै लगाएर,अनि ब्रा मात्रै राखेर मापन हुने,पुष्टि हुने यो कस्तो प्रतियोगिता हो ?’
सामाजिक सञ्जालमा सागरचन्द्र तिवारीले हिडन ट्रिजरले ‘मीस नेपाल’को नाममा महिलाहरुलाई अंग प्रदर्शनको लागि बाध्य पारेको भन्दै आक्रोश पोखेका छन् । उनले मीस नेपाल भन्दै नाममा चेलीहरुलाई अर्कै थोक बनाउन लागिएको ठोकुवा गरेका छन् ।
अधिवक्ता नारायण फुयाँलले पनि त्यसप्रति आपत्ति जनाए । उनले गोप्य अंग प्रदर्शन गर्नैपर्ने यो कस्तो प्रतियोगिता हो ? भनेर प्रश्न गरेका छन् । लेख्छन्, ‘पेन्टी मात्रै लगाएर,अनि ब्रा मात्रै राखेर मापन हुने,पुष्टि हुने यो कस्तो प्रतियोगिता हो ?’
महिला अधिकारकर्मी आकृति सुनुवारको आक्रोश छ, ‘यसरी छानिन्छ मीस नेपाल ? मासु देखाएर,छाला देखाएर,गोप्य अंग देखाएर बनेको मीस नेपालको के अर्थ ? आयोजकले महिलालाई फगत कठपुतली बनायो,यो निन्दनीय छ ।’
गायिका तथा मोडल समृद्धि राईले ब्युटी पेजेन्टमा भाग लिएपछि वा जितेपछि युवतीहरुले के–के न पाइएला,के–के न भइएला भनेर अपेक्षा गरे पनि त्यहाँ पैसा र जवानीको बार्गेनिङसिवाय केही नहुने ठोकुवा गरेकी छन् ।
प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले यस्ता प्रतियोगिताको मापदण्ड बनाउनुपर्ने जनाएको छ । समिति सभापति किरणकुमार साहले प्रतियोगीहरुलाई आयोजकले स्विमिङ कस्ट्युममा फोटोसुट गराएको खबर आफूले पनि औनपचारिक रूपमा थाहा पाएको बताए । ‘मैले पनि सामाजिक सञ्जालबाटै थाहा पाएँ,समितिमा औपचारिक निवदेन आएको छैन’, उनले भने,‘तर हामी यस्ता प्रतियोगितालाई नियमन गर्नुपर्छ भन्नेमा छौं, प्रतियोगीहरुलाई कतिसम्म नाङ्गो हुन दिने भन्ने मापदण्ड बनाइनुपर्छ ।’
आयोजक संस्था हिडन ट्रेजरका सञ्चालक सुवर्ण क्षेत्रीले भने प्रतियोगिताअन्तर्गत ‘स्विमस्वीट क्वीन’ उपाधीका लागि मात्र बन्द कोठामा क्याटवाक गराइएको बताए । ‘त्यो एउटा सबटाइटलको लागि बन्द कोठामा गरिएको सुट हो,पब्लिक गरिएको हैन । त्यसमा त्यही फिट्नेस र फिगर हेर्ने हो, त्यसको लागि सम्बन्धित निर्णायकले नै मूल्याङ्कन गर्छन् ।’ बन्द कोठामा गरिएको फोटोसुटबारे उनले अन्यथा नलिन आग्रह गर्दै फिट्नेस गुरुहरुहरुले उनीहरुको क्याटवाक हेरेको बताए ।
यसअघि २०७९ को संस्करणमा आयोजक संस्थाका एक पुरुषले प्रतियोगीलाई विजेता बनाइदिने आश्वासनमा यौन प्रस्ताव राखेको घटना बाहिरिएको थियो । उक्त विषयले संसदमा समेत प्रवेश पाएको थियो । संस्थाको सञ्चालक समितिमा सबै पुरुष हुनुले पनि हिडन ट्रेजर विवादमा परेको बताइन्छ ।
टिप्पणीहरू