वकिलको हात चल्छ, लात पनि चल्छ

वकिलको हात चल्छ, लात पनि चल्छ
सुन्नुहोस्

हिन्दी सिनेमाकी लोकप्रिय हिरोइन कंगना रनावतको गाला एकजना महिला सुरक्षाकर्मीले चड्काएको चर्चा सेलाउन नपाउँदै नेपालमा पनि त्यसैको सिको गर्नेहरू देखा परेका छन् । कुलविन्दर कौरले कंगनाकोे गाला चड्काएकै शैलीमा नेपाली महिला वकिलहरू भने हात र लात दुवै चल्छ भन्दै अदालतका सुरक्षाकर्मीविरुद्ध उत्रिएको विषयले अदालत र बारलाई चिन्तित बनाएको छ । 

वकिलहरूको हात चल्छ र लात पनि चल्छ भन्दै अदालतमा खटिएका सुरक्षाकर्मीहरूमाथि एकपछि अर्को वकिलले हातपात गर्दा सुरक्षाकर्मी नै असुरक्षित हुन थालेको भन्दै वरिष्ठ अधिवक्ता र कर्मचारीहरूले विरोध गरिरहेका छन् । मंगलवार सर्वाेच्च अदालतमा सुरक्षाका लागि खटिएका एकजनामाथि महिला कानुन व्यवसायी लुमा चौधरीले हातपात गरिन् । विवाद उत्पन्न भएपछि उनले ती सुरक्षाकर्मीको गाला चड्काएकी हुन् । सोमबार दिउँसो सवा २ बजेतिर महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई थुनामा राखिएको छ । उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको पनि भनिएको छ ।

सर्वोच्च अदालतका बेञ्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदनको फैसला भएको नक्कल लिने विषयमा विवाद भएपछि सुरक्षाकर्मी बोलाइएको थियो। सोही विषयको आपसी भनाभनमा चौधरीले प्रहरी कर्मचारीमाथि हात हालेको प्रत्यक्षदर्शीहरू बताउँछन् । अधिवक्ता चौधरीले सर्वाेच्चमा हातपात गर्नुअघि अधिवक्ता नानी थापाले काठमाण्डौं जिल्ला अदालतमा यसैगरी हातपात गरेको विषय साम्य भइसकेको छैन । न्यायालय र बार दुवैतर्फबाट घटनाको विषयमा आ–आफ्नो दृष्टिकोण बाहिर ल्याएर दोषीमाथि कारबाही गर्नुपर्छ भनी आएका छन् । 

जनताको अधिकार रक्षाका लागि कानुनी तवरले कुरा राख्न सिपालु भनेर अधिवक्ताको प्रमाणपत्र पाएका नेपालका वकिलहरू हात र लात दुवै चलाउन पनि सिपालु छन् भन्ने कुरा तत्कालिन प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध नेपाल बारले चलाएको आन्दोलनमा समेत स्थापित भइसकेको छ । राणाविरुद्धको आन्दोलनका क्रममा अधिवक्ता विराट न्यौपानेले अधिवक्ता भूमिनन्द चुडाललाई लात र मुक्का हानेको घट्नाको सर्वत्र विरोध भइसकेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू