'सतिदेवी'लाई किन लगाइयो जुत्ताको माला ?

'सतिदेवी'लाई किन लगाइयो जुत्ताको माला ?

चलचित्रका क्राफ्ट फरक–फरक हुन्छन् । कतिपय विलासी दृश्यसहित मनोरञ्जनात्मक हुन्छन् भने केही पृथक ! दर्शकमा लामो समयसम्म प्रभाव पार्नसक्ने पृथक फिल्मको सूचीमा थपिने संकेत देखाएको छ प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सतिदेवी’ले !

‘बिहानीले दिनको संकेत गर्छ’ भनेझैँ आज सार्वजनिक भएको चलचित्रको ट्रेलरले एउटा महिलाको अन्तरकुन्तर कथालाई कलात्मक शैलीमा प्रस्तुत गरेको छ । हाम्रो समाजमा आदिम वर्षदेखि हावी हुँदै आएको पितृसत्तात्मक संस्कारको एउटा आयामलाई चलचित्रले मिठो बिम्ब बनाएको छ ।

ट्रेलरबाट समाजको लागि भएपनि छोरा जन्माउनैपर्ने बाध्यताले चलचित्रको शुभारम्भ गरिएको अनुमान लगाउन सकिन्छ । कलिलो उमेरमै परिवारको निम्ति कठोर संघर्ष, घाँटीमा जुत्ताको माला भिराइएर बहिस्कृत हुनुको पीडा र परिवारबाट टाढिएर परिवारकै लागि बाँच्नुपर्ने वर्तमानसँग सतिदेवीले कसरी ट्याकल गर्छिन् ? सम्रगमा चलचित्रले यी विषयहरुलाई पृथक तरिकाले अभिव्यक्त गरेको छ । यद्यपि, चलचित्रको पटकथाबारे अहिले नै भन्न सकिन्न । 

आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् । कथा र गीत पनि उनकै हो । पछिल्लो समयकी चल्तिकी नायिका मलिका महत मुख्य भूमिकामा फिचर्ड छिन् । पछिल्लो समय ‘अगस्त्य’ मा मलिकाको अभिनयको राम्रै तारिफ भएको थियो । अहिले ‘सतिदेवी’को ट्रेलरले झन् उनलाई माथि पुर्याएको  छ ।
 
चलचित्रमा मलिकासँगै सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा र बाल कलाकार हर्षिका वली तथा मन्जिला बानियाँको अभिनय छ । यस चलचित्रले आधा दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागिता जनाएर अवार्डसमेत जितिसकेको छ ।

टिप्पणीहरू