मन्त्रीहरूकै महाबिजोग
झण्डा फहराउँदै हिँड्ने मन्त्रीका पनि अनेक दुःख ! झापावासी र केपी ओलीको निकट भएर मात्र नहुने, क्वार्टर राम्रो फेला नपर्दा प्रकृतिले पनि हेप्ने ! बल्ल तल्ल फेला पारेको निवास बर्खायाममा पानी पसेर हिलाम्मे बनाइदिएसँगै दुःखका दिन शुरु भए ।
रमिता मच्चियो पुल्चोकमा । राम्रा र सुविधासम्पन्न भवन जति अरुले कब्जा जमाएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको भागमा परेको थियो ब्लक सि । त्यहाँ यसअघि पम्फा भुसाल ऊर्जामन्त्री हुँदाकै घटना दोहोरियो । क्वार्टरमा पानी छिरेर हिलाम्य बनाइदिएपछि हल्ला मच्चिने नै भयो । गत बिहीबार परेको मुसलधारे वर्षाले मन्त्री क्वार्टरका कार्पेट, गलैँचालगायत भिज्न बाँकी वस्तु केही रहेनन् । कोठाका सबै सामग्री भिजेर काम नलाग्ने भएसँगै शहरी विकास मन्त्रालय मातहतको निकायले रातारात उनलाई भैंसेपाटीस्थित एफ टु ब्लकमा सिफ्ट गराएको छ ।
पुल्चोकमा मन्त्रीका निम्ति १९ वटा ब्लक छन् । वीरेन्द्र राजा हुनेबित्तिकै बनेका ‘ए’ र ‘बी’ ब्लकमा तीन दशकअघि ‘सी’ र ‘डी’ ब्लक थपिएको छ । त्यहाँ १२ मन्त्री बसेका छन् । बाँकी ५ जना सैंबु, भैंसेपाटी र चार जना आफ्नै घरमा छन् । अर्थमन्त्री विष्णु पौडेल घर नजिकैको भैंसेपाटी क्वार्टरभित्र सी फोर ब्लकमा सरेका छन् । यसअघिका स्वास्थ्य तथा जनसंख्यामन्त्री र अहिले खानेपानीमा पुगेका प्रदीप यादव अघिल्लो सरकारकै पालादेखि भैंसेपाटीमा बस्न थालेका छन् ।
प्रदीपलाई इ फोर र वन तथा वातावरणबाट अहिले महिला बालबालिकामन्त्री बनेका नवलकिशोर साह सुडीलाई ए वान ब्लकमा राखिएको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता ए टु ब्लकमा पुगेका छन् । उपसभामुख इन्दिरा राना साउन पहिलो साता डी वान ब्लकमा सर्ने तयारी थियो तर यो बीचमा उनको काण्ड बाहिर आएसँगै भैंसेपाटी सर्ने काम रोकिएको छ ।
यता, आफ्नै घरमा बस्ने मन्त्रीहरूमा उपप्रधान तथा शहरीमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी र ऊर्जामन्त्री दीपक खड्का छन् । यस्तै, पुल्चोकस्थित मन्त्री क्वार्टरको डी वान ब्लकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, डी फाइभमा गृहमन्त्री रमेश लेखक, भूमिमन्त्री बलराम अधिकारी बी थ्री, उद्योगमन्त्री दामोदर भण्डारी सी थ्री, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी ए वान, स्वास्थ्यमन्त्री प्रदीप पौडेल ए फोर, कानुनमन्त्री अजयकुमार चौरासिया ए टु, संस्कृति, पर्यटनमन्त्री बद्री पाण्डे बी वान, कृषिमन्त्री रामनाथ अधिकारी सी फोर, शिक्षामन्त्री विद्या भट्टराई ए थ्री ब्लकमा सरेका छन् ।
रक्षामन्त्री मानवीर राई सी फाइभ र वन तथा वातवरणमन्त्री ऐनबहादुर शाही ए फाइभ ब्लकमा बस्छन् । पुल्चोकस्थित मन्त्री क्वार्टरमा बस्दै आएका मन्त्रीहरूलाई दशैंअगावै भैंसेपाटी सारेर यी क्वार्टरमा सर्वाेच्चका न्यायाधीशहरूलाई सार्ने तयारी भइरहेको छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू