समय समयको यो कस्तो संयोग

समय समयको यो कस्तो संयोग

-हरि गजुरेल

दक्षिण निकट मानिएका पूर्वमुख्यसचिव त्यताबाट उछिट्टिएर एकै पटक अमेरिकातिर पुग्नु केको संकेत होला ? आरजु राणाको सामु नतमस्तक हुने, स्याङ्जाली नाता लगाउँदै विष्णु पौडेलको सेवामा कुनै कसुर नछाड्ने लोकदर्शन रेग्मीले पूर्व वाणिज्यसचिव चन्द्र घिमिरेको मुखैमा आएको दोश्रो पटकको भागसमेत खोस्न सफल भएको चर्चा छ, निजामती वृत्तमा ।

उनी एमाले कोटाबाट अमेरिकाका निम्ति राजदूत सिफारिस भएका छन् । यसअघि रेग्मीले २२ असोज २०७७ मा अवकाश हुँदै गरेका शंकरदास वैरागीलाई मुख्यसचिव बनाउन सहयोग गरेका थिए । त्यसो गरेबापत बेलायतको राजदूत पाए । कथं रेग्मीले बीचैमा नछाडी पूरै कार्यकाल मुख्यसचिव चलाएको भए चन्द्र घिमिरे मुख्यसचिव बन्ने थिए । घिमिरेलाई जानाजान मुख्यसचिव बन्नबाट रोकेका रेग्मीले फेरि पनि उनैको भाग खोसेको चर्चा छ ।

बीचैमा बैरागीलाई मुख्यसचिव बनाएर ९ महिना बेलायतको राजदूत खाएका रेग्मीले यसपटक पनि घिमिरेलाई अमेरिका जानबाट रोके र बेलायत पठाइदिए । यसअघि एमाले र माओवादी सरकार हुँदा लोकदर्शनलाई भारत र चन्द्र घिमिरेलाई अमेरिकाको राजदूतमा सिफारिस गरिएको थियो । त्यतिवेला रेग्मीको नामै तोकेर दक्षिणले मागेको केही पूर्वप्रशासक स्मरण गर्छन् । तर, गठबन्धन फेरिएसँगै कांग्रेसको रोजाईमा भारत पर्‍यो र शंकर शर्मालाई निरन्तरता दिन चाह्यो भने एमालेको कोटामा बेलायत, अमेरिकालगायतका मुलुक परे ।

चन्द्र घिमिरेलाई नजिकबाट चिन्ने एक पूर्वमुख्यसचिवले जनआस्थासँग भने, प्रशस्त अवसर पाएका कर्मचारी हुन् चन्द्र तर लोकदर्शन रेग्मीझैं चाकडीकला हैनन् । उनी कोलकातामा महावाणिज्यदूत हुँदा भुँइचालोले नेपाल तहसनहस भएको थियो । यस्तै नाकाबन्दीताका एकदमै ठूलो प्रेसरमा महावाणिज्यदूत भएर काम गरेका उनी सचिव हुँदा चीनसँग पारवहन सन्धि अगाडि बढाइएको थियो । 

प्रधानमन्त्री ओलीलाई चतुर्‍याइँमा कसैले भेट्न सक्दैन भन्ने अर्काे उदाहरण पनि यसै साता सार्वजनिक गरेको छ, अर्काे घटनाक्रमले । ओलीलाई हरेक कुरामा रेकर्ड राख्नु छ । जस्तोः हिजो प्रधानमन्त्री हुँदा धरहराको ४० प्रतिशत काम नसकिँदै उद्घाटन, झापामा अर्बाैको भ्युटावर, मेलम्चीको पानी राजधानी नआउँदै उद्घाटन त्यसकै उदाहरण हुन् ।

अघिल्लो पटक केपी शर्मा ओलीकै कोपभाजनमा परेकी थिइन् लीलादेवी गड्तौला । यदि रेकर्डै बनाउने रहर हो भने, पहिलो महिला कानुन सचिव बनाउनुपथ्र्याे । तर, अहिले ३७ दिनका लागि मुख्यसचिव बनाएका छन् । ०५६ सालदेखि मुख्यसचिव नियुक्ती योग्यता र क्षमताको आधारमा हुन छाडेको छ । अहिलेसम्म २७ जना मुख्यसचिव भए । विमल कोइराला र लीलामणि पौडेलको तुलनामा अरुको नाम आउँदैन । ०७२ पछि मुख्यसचिवको पद सौदाबाजी गर्ने थलो भएको छ । लोकदर्शन रेग्मी, शंकरदास बैरागी, बैकुण्ठ अर्यालदेखि लीलादेवीसम्म आइपुग्दा जुनियरलाई टिप्न थालिएको छ ।

सोमबार साँझ बसेको क्याबिनेट बैठकले २१ सचिवको सरुवा गर्दा कांग्रेस मन्त्री भएका कतिपय मन्त्रालयमा एमालेका सचिवहरूलाई राखिएको छ, कतिपयलाई चलाइएको छैन । गृह, पर्यटन, शहरी, वनमा कांग्रेसका मन्त्री छन् । त्यहाँ एमालेनिकट एकनारायण अर्याल, मणिराम गेलाल, गणेश पाण्डे, गोविन्द शर्मा सचिव छन्, यसपटकको सरुवामा कालो कांग्रेसी भनेर चिनिएका गोकर्णमणि दुवाडीलाई लखेटेर तथ्यांक कार्यालय, उनकै भाइ नारायण दुवाडीलाई राष्ट्रपति कार्यालय, एरोनटिकल इञ्जिनियर सुरेश आचार्यलाई उर्जा आयोगतिर खटाइएको छ । कांग्रेसी भनेर चिनिए पनि मधेसी पार्टीसँग व्यक्तिगत सम्बन्ध बनाएका मुकुन्द निरौला कुरा मिलाएर शरदसिंह भण्डारीले सम्हालेको श्रम मन्त्रालयतिर पुगेका छन् । 

यसैबीच, परराष्ट्रसचिव सेवा लम्साललाई राजदूत बनाएर पठाउने गृहकार्य चलिरहेको प्रम कार्यालयका अधिकारीहरूले जनाएका छन् । गेहेन्द्र राजभण्डारीको ठाउँमा सेवालाई बेल्जियम पठाउने गरी गृहकार्य शुरु भइसकेको बताइएको छ । यदि, सेवा त्यसरी गएको खण्डमा केपी शर्मा ओली परराष्ट्रमन्त्री हुँदा  सचिवालयमा बसेर काम गरेका अमृत राई सोझै सचिव बन्नेछन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू