अमेरिकाबाट फर्कनासाथ पतिलाई आपत

अमेरिकाबाट फर्कनासाथ पतिलाई आपत

– अञ्जनकुमार हिमाली

लोग्नेविरुद्ध सम्बन्धविच्छेद, बहुबिबाह, अंशबण्डा, कुटपिटजस्ता मुद्दा त बग्रेल्ती नै छन् जिल्ला प्रहरी कार्यालय लमजुङमा । तर, पछिल्लो समय सुन्दा नै अस्वाभाविक र अपत्यारिलो लाग्ने मुद्दा परेको छ ।

राजीखुशी सामाजिक रीतिरिवाज अनुसार बेसीशहर नपा–७ का विष्णुबहादुर बस्नेतसँग ०७३ सालमा वैवाहिक बन्धनमा बाँधिएकी मस्र्याङ्दी गाउँपालिकाकी सिर्जना भण्डारीले लोग्ने अमेरिकाबाट आएको दुई हप्ता नबित्दै बलात्कारको आरोप लगाएर उजुरी ठेलिदिएकी छन् ।

विवाह गरेको केही महिनामै डिभी परेर अमेरिका उडेका बस्नेत ०७५ कात्तिकमा घर आएका थिए । त्यो बेला राम्रै सम्बन्ध थियो । एक महिनाको बसाइँपश्चात् मंसिरमा बस्नेत फर्के । त्यसपछि भने श्रीमान्श्री/मतीबीच दरार पैदा भएको सिर्जना भण्डारी आफैँले उजुरीमा जनाएकी छन् । उनका अनुसार श्रीमान्लाई बेला बखत सम्पर्क गर्दा अश्लील शव्दले गालीगलौज गर्ने र मानसिक दबाब दिन थालियो ।

 

यही क्रममा आफूलाई कुनै जानकारी नदिई जेठ ३ गते श्रीमान् घर आएको साँझ काम सकेर घर जाँदा मात्रै देखेको बताउने सिर्जनाले दिनभरि के काम गर्छिन् त्यो भने खुलाएकी छैनन् । यसैक्रममा जेठ १७ गते बेसीशहर –७ बस्ने दिदीकोमा गएको बेला साँझ ५ बजे श्रीमान्ले जबर्जस्ती करणी गर्न खोजेको भन्दै जिप्रका लमजुङमा मुद्दा दायर भएको छ । तर, बस्नेत परिवार त्यो स्वीकार्न तयार छैन ।

प्राप्त जानकारीअनुसार लोग्ने आएदेखि नै सिर्जनाको व्यवहार सन्तोषजनक नभएका श्रीमान्ले फोन गर्दा अफ भएको र सो दिन अर्थात् जेठ १७ गते दिनभर बेपत्ता भएको अवस्था थियो । श्रीमतीलाई देखेनन् । फोने गर्दा नलागेपछि सिर्जनाकी दिदीको डेरा पुगेका विष्णुले त्यहाँ पनि देखेनन् । केही बेरमा भने दिदीकोमा आइपुगिन् । विष्णुले मोबाइल खोसेर यही हैन हाम्रो सम्बन्धमा दरार पैदा गर्न खोज्ने भन्दै फुटाउन लाग्दा दिदीले सम्झाएर पठाएका थिए । मोबाइल बोकेर घरतिर लागेको, सामान्य भनाभनलाई बलात्कार भनेर उजुर गर्नु कहाँसम्म हो ? विष्णुकी आमाले बताउनुभएको छ ।

लोग्नेलाई बलात्कार उद्योगमा मुद्दा हाले पनि सिर्जना उही घरमा बस्दै आएकी छन् । सिर्जनाले हालेको जाहेरीपछि  पक्राउ गर्न भनेर प्रहरी विष्णुको घर पुगेको थियो । खानतलासी पनि भयो तर विष्णु भने भेटिएनन् । एक महिनाको बिदामा आएका विष्णु अमेरिका फर्केको सिर्जनाले पत्तै पाइनन् । यसै विषयलाई लिएर एक बैंकमा कार्यरत म्यानेजरसँग विष्णुले संवाद गरेको बुझिएको छ । ती म्यानेजरकै आडमा मिथ्या आरोप लगाएर विष्णुलाई फसाउन खोजेको विष्णुका एक आफन्तले जनआस्थालाई बताए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू