प्रधानमन्त्री भागेपछि बंगलादेशमा सैनिक शासनको तयारी !
बंगलादेशमा अन्तरिम सरकार गठन हुने भएको छ । प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारत भागेपछि सेना प्रमुख वाकर उज जमानले राष्ट्रको नाममा सम्बोधन गर्दै अब अन्तरिम सरकार गठन हुने बताएका छन् ।
नयाँ सरकार गठनको निम्ति विभिन्न राजनीतिक दलहरुसँग छलफल सुरु भइसकेको जानकारी दिइएको छ । विद्यार्थी आन्दोलनले मुलुकमा जनधनको व्यापक क्षति भएकाले थप हुन नदिन सेनाकै नेतृत्वमा अन्तरिम सरकार गठन हुने उनले बताए । उनले आन्दोलनकारीहरुलाई संयमित हुन पनि आग्रह गरेका छन् ।
उता आन्दोलनकारीले प्रधानमन्त्री निवासमा प्रवेश गरेर हुलदंगा मच्चाइरहेका छन् । कतिपय आन्दोलनकारी प्रधानमन्त्रीको बेडमा पुगेर सुतेको भिडियो सार्वजनिक भएको छ ।
हिजो मात्रै आन्दोलनको क्रममा ९१ जनाको मृत्यु भएको थियो । आज बिहान थप आठ जनाको मृत्यु भएको जनाइएको छ । एक महिनादेखि जारी आन्दोलनमा ज्यान गुमाउनेको संख्या तीन सय नाघेको छ ।
टिप्पणीहरू