पहिलो महिला प्रधानमन्त्री बन्ने कसको पालो ?

पहिलो महिला प्रधानमन्त्री बन्ने कसको पालो ?

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्ड र केपी ओली दुबैबाट पालैपालो आएको प्रधानमन्त्री बन्ने अफरलाई किन सर्लक्क स्वीकार नगरेको होला ? यो प्रश्न नयाँ सत्ता समीकरणको चर्चा शुरू हुँदै गर्दादेखि नै अनुत्तरित छ । तर, देउवाको शैली बुझ्ने कांग्रेसकै केही उच्चस्तरीय नेताले आपसमा गरेको बातचितले भने उहाँको खास योजना के रहेछ भन्ने संकेत गर्छ ।

अनौपचारिक छलफलमा सहभागी एक नेताका अनुसार देउवा सात पटक प्रधानमन्त्री बन्ने ज्योतिषीको भविष्यवाणी गलत सावित गरेरै भए पनि आफ्नै सक्रियतामा पत्नी आरजुलाई देशकै पहिलो महिला प्रधानमन्त्री बनाउने योजनामा हुनुहुन्छ । त्यही सपनालाई साकार पार्न उहाँले प्रचण्डले किस्तीमा राखेर दिएको प्रधानमन्त्री पदलाई अस्वीकार गर्दै ओलीलाई साथ दिनुभएको हो । यसैबमोजिम उहाँले संविधानको धारा ७६ (३) अन्तर्गतको प्रधानमन्त्री बन्ने प्रचण्डको प्रस्ताव र ७६(२) कै बन्ने ओलीको प्रस्ताव लत्याउनुभयो । 

समाचार स्रोतका अनुसार केपी ओलीले पनि पछिल्लो गठबन्धन बन्दा पहिले तपाईं प्रधानमन्त्री बन्नुस् भन्ने प्रस्ताव दोहोर्‍याएर राख्नुभएको थियो । तर, उहाँले ‘होइन, तपाईं नै बन्नुस्’ भन्दै उदारता देखाएपछि त्यसभित्र के रहस्य छ भन्ने खोज्दा ‘आरजु फ्याक्टर’ फेला परेको हो । आरजुलाई ठाउँ पक्का गर्न र अहिलेको मन्त्रिमण्डलमा कांग्रेसबाट वरिष्ठ मन्त्रीमा अरु देखा नपरुन् भन्नका लागि शुरुमा उपप्रधानमन्त्रीको जोहोसमेत नगरिएको देखिएको छ । त्यही कारण पनि आरजुलाई नै प्रथम महिला प्रधानमन्त्री बनाउन अहिले परराष्ट्रमन्त्री बनाएर राखेको खुलेको छ ।  

एकातिर प्रम ओली ‘पहिलो महिला’ भन्दै नयाँ रेकर्ड बनाउन रहर गर्ने, उता देउवालाई पनि त्यही मौकामा पत्नीलाई प्रधानमन्त्री बनाउने रहर जाग्दा लगभग ओलीपछि आरजु नै बन्ने भइन् भन्ने बुझाइमा कांग्रेसजन पुगेको देखिन्छ । 

त्यसो त विधान र उमेरका कारण पनि अब देउवा दोहो¥याएर सभापतिमा उठ्ने होइन । उहाँ अबको दुई वर्षभित्र शारीरिक रूपमा पनि निकै कमजोर अवस्थामा पुग्ने देखिन्छ । एकथरी राजनीतिज्ञ के चर्चा गर्छन् भने गगन थापा, प्रदीप पौडेल, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण आदि एकातिर लागेर बलियो मोर्चाबन्दी गरिरहेको अवस्थामा आरजुलाई स्थापित गर्ने र परराष्ट्रमन्त्री बनाएर भारत, अमेरिकालगायतका शक्तिकेन्द्रसँग नजिक बनाई विस्तारै उनीहरूको समेत सहयोग र समर्थनमा प्रधानमन्त्री बनाउने योजना देखिएको छ । आरजुलाई पार्टी सभापति बनाउन नसके पनि जे जसरी होस् प्रधानमन्त्रीचाहिँ बनाएरै छाड्ने इच्छा देखिएकै छ ।

त्यसैकारण उहाँले ओलीसँग कुनै कसिकसाउ गर्नुभएको छैन । संसद्मा पनि बोल्दा आधिकारिक रेकर्ड बस्ने गरी ओलीले आफूले जस्तै इमान्दारी देखाएको हेर्ने रहर पोख्नुभएको छ । स्वयं देउवा आफू पनि यो मामिलामा निकै इमान्दार देखिनुहुन्छ । कृष्ण सिटौलालाई बोलेअनुसार राष्ट्रिय सभाको अध्यक्ष बनाउन मरिहत्ते गरिएकै हो । रामचन्द्र पौडेललाई राष्ट्रपतिको रूपमा व्यवस्थापन गर्न कुनै कञ्जुस्याइँ देखाइएन । प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री बनाएर टिममा पठाइयो जबकि उपप्रधानमन्त्री नै नराख्ने शंकर पोख्रेलहरूको अडान थियो । 

यसबीच, योगेश भट्टराई मन्त्री बन्न लागेको सुइँको पाएपछि भने ओलीलाई शेरधन राई, हिक्मत कार्कीलगायतले निकै दबाब दिएको बताइन्छ । ‘तपाईंलाई साह्रो पर्दा हामीले काँध थाप्नुपर्ने अनि सधैँ खुट्टा तान्नेलाई पुरस्कृत गर्ने ?’ उनीहरूको गुनासो थियो । 

यसरी योगेशलाई हटाउँदा उता रक्षा मन्त्रालयमा पठाइएका मन्त्रीको स्तर पुगेन भन्ने चर्चा छ । विगतमा विद्या भण्डारी, माधव नेपाल, बालकृष्ण खाँड, पूर्णबहादुर खड्का, भीम रावल, भीमसेनदास प्रधान, ईश्वर पोखरेल, विष्णु पौडेलजस्ता हस्तीले सम्हालेकोमा अहिले स्वाट्टै मानवीर राईलाई बनाइएको छ । त्यसमा सेनाले समेत चित्त दुखाइ गरेको खबर बाहिरिएको छ । सेनाले नयाँ केही नबुझेको मान्छे पठाएर हाम्रो अपमान गरियो भन्दै गुनासो गरेको समाचार स्रोत बताउँछ ।

उता, समावेशी मन्त्रिमण्डल बनाउँदा जीवन परियार कांग्रेसबाट आउने भन्दै छविलाल बिकलाई एमालेबाट मन्त्री बनाइएन । विष्णु पौडेललाई बाध्यतावश फेरि अर्थमन्त्री नै बनाएका ओलीको खास इच्छा भने पार्टीमा अब क्रमशः विद्या भण्डारीलाई स्थापित गर्ने देखिएको छ । आफैंले प्रस्ताव गरेर एमालेको पहिलो महिला अध्यक्ष बिद्या भण्डारीलाई बनाउने ओलीको रहर र जे जसरी भए पनि आरजूलाई प्रधानमन्त्री बनाउने देउवाको चाहना पूरा नहोला र !

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू