मन्त्रीहरुको फेरियो मर्यादाक्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई जना मन्त्रीको वरीयताक्रम हेरफेर गर्नुभएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र पर्यटनमन्त्री बद्री पाण्डेको मर्यादाक्रम परिवर्तन भएको हो ।
२२ सदस्यीय मन्त्रिपरिषद्मा यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको वरीयता १४औँ स्थानमा थियो । उनलाई अहिले १६औँ स्थानमा झारिएको छ । त्यस्तै १६औँ मा रहेका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डे १४औँ नम्बरमा उक्लिएका छन् ।
बाँकी मन्त्रीहरुको भने मर्यादाक्रम परिवर्तन भएको छैन । जसअनुसार प्रधानमन्त्रीपछि क्रमश: उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, सञ्चार तथा सूचना,प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र गृहमन्त्री रमेश लेखक छन् ।
मन्त्रीहरुको वरीयतामा सबैभन्दा तल वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही छन् । त्यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता,उर्जा,जलस्रोत तथा सिँचाईमन्त्री दिपक खड्का,रक्षामन्त्री मानवीर राई र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई छन् ।
प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ बमोजिम दुई मन्त्रीको मर्यादाक्रम हेरफेर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
टिप्पणीहरू