प्रचण्डको पार्टी फुटाइने खतरा

खुमल्टारमा कम्युनिष्ट नेताहरुबीच कुरा खुलस्त

प्रचण्डको पार्टी फुटाइने खतरा

गत हप्ता सत्ता राजनीतिमा केपी ओलीबाट धोका खाएका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको उपल्लो तहका नेताबीच प्रचण्डनिवास खुमलटारमा भलाकुसारी भयो । प्रचण्डले फकाउन र सँगै अघि बढौँ भन्ने प्रस्ताव राख्न बोलाएका समाजवादी नेताहरूले भने त्यो भेटघाटलाई मनको तीतो पोख्ने अवसरका रूपमा प्रयोग गरे । समाचार स्रोतका अनुसार प्रचण्डले विगतमा जे जस्तो भए पनि अब भने सहयात्रा नै गर्नेगरी अघि बढौँ भन्ने प्रस्ताव राख्नुभएको थियो । प्रस्ताव भुइँमा खस्न नपाउँदै समाजवादीका नेताले प्रतिप्रश्नको श्रृंखला चलाए । उनीहरूले सोधे– हिजो सत्तामा हुञ्जेल त कसैलाई गन्नु भएन, अहिले कहाँबाट आयो यो दिव्यज्ञान ? समाजवादीका नेताहरूले प्रचण्डले आफ्ना मान्छेलाई दिनसक्ने नियुक्तिसमेत नदिएको र सबै आफैंले नै ओगटेकोमा गुनासो पोखेका थिए । 

प्रचण्डले एकीकृत समाजवादीसँग त मेरो पूरै सहकार्य हुन्छ नि भन्दै कुरा अगाडि बढाउन खोजेपछि एकजना नेताले ठाडै जवाफ फर्काए । स्रोतका अनुसार उनले भने, ‘अस्ति भर्खरै केपी ओलीसँग मिलेर अघि बढ्न खोज्दा तपाइँले उपेन्द्र यादव र रवि लामिछानेलाई भेट्नु भो । उनीहरूसँग सम्झौता भएपछि १३८ भन्दा माथिको बहुमत जुट्दा हामीलाई खोलाले बगाउँदै ल्याएको दाउराको ठुटो झैँ छोड्नुभो । वास्ता नै गर्नु भएन । हामीलाई तपाईंले त्यसबेला छाडे झैँ अहिले तपाईंलाई पनि एमालेले छोडिदियो । अहिले ठिक्क भएको छ ।’

उनले त्यत्तिकैमा मात्र प्रचण्डलाई छाडेनन् । हुर्मत लिने पालो जो पाएका थिए । अगाडि थपे, ‘आफू मात्रै बाठो, सबैलाई झुक्याउन सक्ने ठान्नुहुन्छ तर तपाईंभन्दा ओली धेरै गुणा बाठो रहेछन् । उथलपुथल बनाइदिन्छु भन्नुहुन्थ्यो तर उथलपुथलमा आफैं पर्नुभो त !’ प्रचण्डले भन्नुभयो, ‘हत्तेरिका, तपाईं पनि कति पिट्नुहुन्छ ? अस्ति संसदमा पनि कडागरी नै ठोक्नु भो । यहाँ पनि छोड्नुहुन्न ।’ संसदमा विश्वासको मत दिनेबेला पनि सांसदसमेत रहेका ती नेताले प्रचण्डलाई ‘बेइमान’ भनेका थिए । प्रचण्डले मिलेर जाऊँ भन्दा समाजवादीका नेताहरूको जवाफ थियो – के को मिल्ने ? लगभग १२० वटा स्थानीय सरकारमा तपाईंको पार्टीका मान्छे प्रमुखमा निर्वाचित भएका छन् । ती कुनैमा हाम्रा कार्यकर्ता गएर माग्दा मिलाएर कसैलाई १ लाख रूपैयाँ सहयोग दिनुभएको छ ? अनि कहीँ–कतै सहयोग नगर्नेसँग किन मिल्ने ? सहयात्राको के काम ? यसरी सँगै गएका आफ्ना सहकर्मीले प्रचण्डकै सामुन्ने उनीविरुद्ध आगो ओकल्न थालेपछि माधवकुमार नेपाल भने निकै अप्ठ्यारो महसुस गर्दै बसेको बताइन्छ । आफ्ना शीर्ष नेताको मनोदशा बुझेका उनीहरूले नेपाललाई सम्झाउँदै पछि भनेका थिए– ‘तपाईंले अप्ठ्यारो मान्नै पर्दैन । यसले सही भन्यो भनेर बरु खुशी हुनुस् । यी भन्दा थेत्तरो मान्छे अर्को हुँदैनन् । यी स्वार्थी र अवसरवादी हुन् । विश्वास गर्नु हुँदैन ।’

प्रचण्डले पार्टी एकता नै समेत गर्ने प्रस्ताव राख्दाको जवाफ भने अझ रोचक थियो । समाजवादीका नेताहरूले सोधेका थिए– ‘केको एकता ? किन चाहियो एकता ?’ उनीहरूले अगाडि थपे– ‘एकता त कुनै लक्ष्य तोकेर पो हुन्छ । लक्ष्य, उद्देश्यबिना किन गर्ने एकता ?’ प्रचण्डलाई सुझाव दिँदै भने– हाम्रो पार्टीलाई सक्नुपर्‍यो भने ओलीले सबै सांसदलाई स्वतन्त्र हैसियतका बनाइदिन्छन् र आफूतिर तान्छन् । तपाईंको पार्टीलाई भने कम्तीमा तीन चिरा पारेर फुटाउँछन् । उनीहरूले प्रचण्डलाई स्मरण गराउँदै सचेत रहनसमेत सल्लाह दिएका थिए । ‘तपाईंले नै उपेन्द्र यादवको पार्टीलाई फुटाएको होइन ? आफ्नै सरकारको सहयात्रीलाई त पार्टी फुटाएर दुःख दिनु भो भने तपाईंलाई त्यसै छोड्छन् ओलीले ? त्यसैले अब पहिले आफ्नो थैलीको मुख राम्ररी बाँध्नुस, अर्कोले चोर्‍यो भनेर दुखेसो गरेको सुन्नु नपरोस् । विगतमा माधव नेपाललाई प्रधानमन्त्री दिनु नपरोस् भनी बाटैमा छाडेर हिँडेको घटनासमेत समाजवादी नेताहरुले प्रचण्डलाई स्मरण गराएका थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू