काम अलपत्र पार्नेलाई सांसदले कान समात्ने
नेपाली काँग्रेसका सांसद भुपेन्द्र राईले खोटाङ जिल्ला अस्पतालको निर्माणाधीन भवन अधुरो छोड्ने ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गामार्फत ठेक्का पाएका ठेकेदार कम्पनी श्यामसुन्दर नेपाल, फूलबारी संयुक्त कम्पनीलाई कारबाही गराइछाड्ने उनले बताएका हुन् ।
हाल ५० शय्याको अस्पताल निर्माण हुँदैछ । ठेकेदार कम्पनी अस्पतालको काम अलपत्र पारेर बेपत्ता भएका छन् । सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले ठेकेदार कम्पनीको अग्रिम बैंक जमानीबापतको धरौटी रकम जफतको प्रक्रिया अगाडि बढिसकेको जानकारी गराए ।
‘खोटाङलाई ठग्ने हिम्मत कसैले नगरे हुन्छ । खोटाङलाई पछि पार्छु, ठग्छु र यहाँ जे गर्दा पनि हुन्छ भन्ने केही निर्माण व्यवसायी र निर्माण कम्पनी कालोसूचीमा परिसकेका छन् र पुनः ठेक्का प्रक्रियाअगाडि बढिसकेको पनि छ । "
उनले भनेका छन्,‘खोटाङलाई ठग्ने हिम्मत कसैले नगरे हुन्छ । खोटाङलाई पछि पार्छु, ठग्छु र यहाँ जे गर्दा पनि हुन्छ भन्ने केही निर्माण व्यवसायी र निर्माण कम्पनी कालोसूचीमा परिसकेका छन् र पुनः ठेक्का प्रक्रियाअगाडि बढिसकेको पनि छ । अब यो योजना सम्पन्न नभइञ्जेल निगरानी र दबाबको काम निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
ठेकेदार कम्पनीले समयमा काम नगर्दा योजनाको नाममा आएको तीन करोड रुपैयाँ फ्रिज भएको राई बताउँछन् । ‘अग्रिम बैंक जमानतबापतको धरौटी रकम दुई करोड पाँच लाख ५० हजार रुपैयाँ जफतको प्रक्रिया अगाडि बढिसकेको छ । ठेकेदार कम्पनीले काम नगर्दा तीन करोड रुपैयाँ फ्रिज भएको छ । त्यसको मूल्य निर्माण कम्पनीले चुकाउनुपर्छ’,उनले भने ।
टिप्पणीहरू