स्वदेशमै केही गर्ने संकल्पसहित सचिनले लिए रास्वपाबाट नाम फिर्ता
विदेशमा उच्च अध्ययनपछि उतै थुप्रै अवसरहरू उपलब्ध हुँदाहुँदै पनि स्वदेशमै उद्यम र रोजगारी सिर्जनामा योगदान गर्ने अठोटका साथ स्वदेश फर्किएका युवा व्यवसायी सचिन ढकालले समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। ढकालले नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताप्रति सम्मानस्वरूप व्यक्तिगत कारण देखाउँदै रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय गरेका हुन्।
उनले आगामी दिनमा राष्ट्र र समाजको हितमा आवश्यक परे राजनीतिक जिम्मेवारी वहन गर्न सधैँ तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। ढकालका अनुसार हाल स्वदेशमा पर्याप्त रोजगारी र उद्यमशीलताका अवसर नहुँदा वार्षिक पाँच लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेशिन बाध्य छन्। यद्यपि, विदेशमा अध्ययन पूरा गरी उतैका आकर्षक अवसरहरू त्याग्दै स्वदेशमै केही गर्ने सोचका साथ फर्किने युवाहरू पनि बढिरहेको उनको भनाइ छ ।
यस्ता युवाहरूको प्रयासमा साथ र सहयोग गर्नु आफ्नो प्राथमिकता रहेको ढकालले खुलाए । नेपाली अर्थतन्त्र, खेलकुद, पर्यटन तथा युवा रोजगारी सिर्जनाका क्षेत्रमा सक्रिय रहँदै आएका ढकाल उद्यमशीलताको प्रवद्र्धनमार्फत सामाजिक रूपान्तरण र राष्ट्रिय विकास आवश्यक रहेको बताउँछन् । सुशासनसहितको समुन्नत नेपाल निर्माणका लागि नवीन सोच, ऊर्जा र प्रतिबद्धतासहित अघि बढिरहेका नवयुवाहरूको सामूहिक प्रयासमा आफू सधैँ साथमा रहने प्रतिबद्धता जनाएका छन् ।
प्रख्यात उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन हाल एफसी चितवनका अध्यक्षसमेत हुन्। उनले पारिवारिक पृष्ठभूमिबाट प्राप्त अवसरभन्दा पनि आफ्नै शिक्षा, सीप र ज्ञानलाई व्यवहारमा उतार्दै नवीनता, नवउद्यम र चुनौतीपूर्ण क्षेत्रमा काम गर्ने लक्ष्य लिएको बताउँदै आएका छन्। उनले लेखेका छन्, ‘स्वदेशमै उद्यमशीलता विकास गर्दै रोजगारी सिर्जना गर्नु नै समृद्ध नेपालको आधार हो।’
टिप्पणीहरू