यसकारण बुटवलमा रुपन्देही र पाल्पाको चर्चा

यसकारण बुटवलमा रुपन्देही र पाल्पाको चर्चा

‘बुटवलको नेता’ को छवि बनाएका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पछिल्ला केही दिनदेखि गृह जिल्लामा व्यस्त छन् । मध्य जाडोमा उनी बुटवलमा कार्यकर्ताको घरदैलो गरिरहेका छन् । पार्टीका अन्य शीर्ष नेताहरु काठमाडौंमा बसेर समानुपातिक उमेदवार, प्रत्यक्षतर्फको उमेदवार छान्ने, महाधिवेशनपछिको पार्टी संरचनामा नियुक्तिका लागि व्यस्त देखिन्छन् ।

यसअघि पटक पटक अर्थमन्त्री भइसकेका पौडेलमाथि ५ वटा निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्र नम्बर २ लाई मात्रै प्राथमिकता दिएको आरोप लाग्दै आएको छ । तर पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको रणनीतक चेपुवामा परेको भन्नेहरु पनि छन् ।

कुनैबेला एमाले रुपन्देहीमा पौडेल पक्षधर र घनश्याम भुसाल पक्षधरको प्रतिस्पर्धा थियो । भुसालले एमाले छाडेपछि उनी र महासचिव पोखरेलबीच तानातानको अवस्था देखिन्छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री भएको बेलामा महासचिव पोखरेलले बुटवलमा बसेर बनाएको एमाले गुट निकै बलियो भएको थियो । सोही कारण पौडेलको खास भनिएका स्थानीय नेताहरुले शंकरलाई साथ दिएका हुन् । 

जिल्लाका चर्चित एमाले नेताहरुमा भोजप्रसाद श्रेस्ठ, पुरुषोतम घिमिरे, शिव सुवेदी, तेजेन्द्र के.सी, मोहन चापागाई, सुमन पुरी, राजु गुरुङ, भरत पोखरेल, राजेन्द्र पन्थी, उमा अधिकारीले समेत पछिल्लो समय पाैडेलकाे साथ छाडेका छन् ।तीमध्ये विष्णुलाई साथ दिएको कारण पोलिटब्युरो सदस्य समेत भएका पूर्वमुख्यमन्त्री लिला गिरि सबैभन्दा बढि चेपुवामा परेको अवस्था छ । 

गिरिलाई पौडेलले ११ औं महाधिवेशनमा साथ नदिएकै कारण केन्द्रीय सदस्यमा पराजित भएको चर्चा व्यापक छ । यसअघि उनी रुपन्देहीमा पौडेलको खम्बा भनेर चिनिन्थे । लुम्बिनी प्रदेश संसदिय दलका नेता गिरि विगतमा मुख्यमन्त्री बन्ने क्रममा पनि पौडेलले दह्रो साथ नदिएकै कारण सपथ ग्रहण अगाडि रोकिएका थिए । त्यो बेला शंकरको जोडबलमा पार्टी उपनेता चेतनारायण आचार्य एकाएक मुख्यमन्त्री नियुक्त भएका थिए । 

२०७४ को स्थानीय तहमा निर्वाचित मेयरहरुमा सर्वाेत्कृष्ट मेयरको अर्वाड पाएका बासुदेव घिमिरे पार्टिको हालैको महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भए । अध्यक्ष केपी शर्मा ओलीको लिष्टमा नपरेपछि उनी पराजित भएका थिए । अहिले राजु गुरुङ, सुमन पुरी जस्ता चर्चित युवालाई समेत संरक्षण गर्न नसकेको चर्चा छ । गुरुङ पनि केन्द्रीय सदस्यमा पराजित भएका हुन् । 

गुरुङ बुटवलमा सधैं युवा परिचालको कुशल व्यवस्थापन गरेर एमालेलाई निर्वाचनमा जिताउन सहयोगी बन्थे । सुमनलाई पार्टी कार्यालयमा रणनीतिक रुपमा हराइएको चर्चा छ । पौडेल मन्त्री छँदाका स्वकीय सचिव चित्र कार्की रास्वपा प्रवेश गरिसकेका छन् । उनी रुपन्देही २ मा रहेको सैनामैना नगरपालिकामा २०७४ मा निर्वाचित मेयर हुन् ।  

पौडेलकै निर्वाचन क्षेत्रको मञ्जु भुसाल पनि एमाले छाडेर रास्वपाको समानुपातिक उमेदवार बनेको देखिन्छ । पछिल्लो समय रुपन्देहीमा पौडेलको सचिवालयले उनी र एमाले राजनीति भन्दा आफ्नो स्वार्थलाई महत्व दिँदा समस्या देखिएको धेरैको भनाइ छ ।

५ वटा निर्वाचन क्षेत्र भएको रुपन्देहीका अन्य निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताले फरक अनुभूति गरेपछि जिल्लाको राजनीतिमा पहिरो जान थालेको सहजै अनुमान गर्न सकिन्छ । विशेषगरी भैरहवा, धकधई, मर्चवार, सालझन्डि, देवदह, मणिग्रामका कार्यकर्ताहरुले त्यस्तो महशुस गर्दै आएको बताइन्छ । यतिखेर रुपन्देही जिल्लाबाट एकजना पनि समानुपातिक उम्मेदवार नभएपछि राजनीतिक आगोमा घिउ थप्ने काम भएको छ । कतिपयले उपाध्यक्ष पौडेलले आगामी निर्वाचनमा पाल्पाबाट उठ्ने तयारी गरेको चर्चासमेत गरेका छन् ।

समानुपातिकमा पाल्पाबाट चारजना पर्नुले उक्त चर्चालाई बल पुगेको छ । ओमबहादुर घर्ती, हिरुसना राना, ठानेश्वरप्रसाद बस्याल र रोजनि खातुन एमालेको बन्दसूचीमा समेटिएका छन् । यसैगरि पार्टी केन्द्रीय सदस्यमा पनि रुपन्देही कमजोर हुँदा पाल्पा हावी भएको छ । महाधिवेशनबाट केन्द्रीय सदस्यमा ठाकुर गैरे, नारायण प्रसाद आचार्य, सरस्वती चिदी, थानेश्वर बस्याल, लेखा आयोग उपाध्यक्ष धनेन्द्र घिमिरे, लेखा आयोग सदस्य निल सारु निर्वाचित भएका छन् । 

विगतमा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाल्पाबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका पौडेल एमालेको सुरक्षित क्षेत्र मानिने पाल्पा क्षेत्र नम्बर १ बाट आगामी निर्वाचन लड्ने धेरैको आकलन छ । पाल्पा १ का नेता दलबहादुर रानाले सक्रिय राजनितिबाट सन्यास लिएको घोषणा महाधिवेशनताका गरिसकेका छन् ।

 

टिप्पणीहरू