ठूलाबा र आमाका कारण जसले मुख्यमन्त्री बन्न पाएनन्

ठूलाबा र आमाका कारण जसले मुख्यमन्त्री बन्न पाएनन्

संघीय राजनीतिमा एकाएक फरक मोड आयो । प्रचण्डले प्रधानमन्त्री छोड्नुपर्‍यो । त्यस्तै अवस्था सुदूरपश्चिम प्रदेशमा आउँदा गत शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिए । नेकपा (एकीकृत समाजवादी) का नेता सोडारीले राजीनामा दिएदेखि नै कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका भतिज प्रकाश मुख्यमन्त्री बन्ने पक्कापक्की थियो । अधिकांश प्रदेश सभा सदस्य पनि उनको पक्षमा थिए । सुदूरपश्चिमका प्रायः सभापति उनको पक्षमा बोल्न सभापतिकोमा पनि पुगेका थिए ।

तर, देउवा दम्पतीले आफ्नै भतिजालाई मुख्यमन्त्री बनायो भन्ने आलोचनाको डरले कमलबहादुर शाहलाई दलको नेताबाट राजीनामा गर भन्न सकेनन् । उनले दलको नेताबाट राजीनामा नगरिदिँदा पनि प्रकाशको मुख्यमन्त्री हुने बाटो खुलेन । धनगढीबाट राजीनामा गर्छु भनेर काठमाडौँ पुगेका शाहले सभापति देउवासँग मैले पहिले १४ महिना अनुभव लिएँ अब फेरि काम गर्ने मौका दिनुपर्‍यो भनेका थिए । शाह यही प्रदेशसभाको कार्यकालमा फेरि मुख्यमन्त्री बनेका छन् । उनी प्रकाश देउवाकै सहयोगमा यसअघि दलको नेता र मुख्यमन्त्री थिए । 

शाहलाई नेता एनपी साउदले पनि राजीनामा नगर्न सुझाएको बताइन्छ । बहादुरसिंह थापा मुख्यमन्त्री बन्न सक्ने अवस्था नआएपछि साउदले शाहलाई बोकेका हुन् । प्रकाश देउवा प्रदेशको भौतिक पूर्वाधारमन्त्री हुँदा साउदलाई गाडी सुविधा नदिएको र उनको भेला हुन नदिएको आरोप साउद पक्षको छ । साउद परराष्ट्रमन्त्री हुँदा प्रकाशले नै प्रदेश सरकारले गाडी नदिएको बताइन्छ । 

प्रकाश देउवाले फेरि मुख्यमन्त्री बन्ने अवस्था भने बनाएका छन् । आफूलाई बाधा दिइरहेका बहादुरलाई प्रकाशले नै आर्थिक मामिलामन्त्री बन्ने अवस्थामा पुर्‍याएको बताइन्छ । यस्तै गरेर कांग्रेसका प्रदेश महामन्त्री मेघराज खड्कालाई सामाजिक, प्रकाश बमलाई आर्थिक राज्य र सरस्वती खड्कालाई सामाजिक राज्यमन्त्री बनाउन उनी सफल भएको चर्चा छ । शाहले देउवालाई फेरि मन्त्री बनाउन ठूलो प्रयास गरेका थिए । उनले आफ्नो कार्यकाल लम्बाउन त्यो गरेको बुझेपछि देउवा सरकारमा गएनन् । यही गठबन्धन रहेमा कांग्रेसले सुदूरपश्चिम र एमालेले कोशी पूरै कार्यकाल चलाउने सहमति भएकोले यो प्रदेश सभाको कार्यकालमा प्रकाश देउवा मुख्यमन्त्री बन्ने पक्का रहेको उनी निकटस्थहरू बताउँछन् । 

एमालेमा मन्त्री छनोटबारे असन्तुष्टि

एमालेले भने मुख्यमन्त्री सोडारीकै कार्यकालमा मन्त्रीलाई दोहोर्‍याएको छ । दलका नेता राजेन्द्र रावलले उपनेता सन्तोष शर्मा थापालाई मन्त्री बन्नबाट रोकेको चर्चा छ । थापा रावल मुख्यमन्त्री हुँदा एक महिना बिनाविभागीय मन्त्री भएकी थिइन् । रावलले विश्वासको मत नपाउँदा सरकार ढलेको थियो । थापाले सोडारीको पालामा मन्त्री हुन मानेकी थिइनन् भन्ने चर्चा थियो । यो पटक भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै मन्त्री हुनुपर्छ भनेकोले ढुक्क भएर धनगढी गएकी थिइन् । तर रावल र एमाले महासचिव शंकर पोख्रेलसहितले रोकेको चर्चा धनगढीमा छ । 

सन्तोषनिकट बाजुरा जिल्ला कमिटीका सदस्य नरेन्द्र थापा सहवीरले त फेसबुकमा महासचिव शंकर पोख्रेललाई ट्याग गरेर दलका नेता रावलको विरोध गरेका छन् । उनले भनेका छन्– समानुपातिकबाट प्रदेशसभा सदस्य बनेका रावलले संसदीय दल र पार्टीको प्रदेश कमिटीसंग छलफलै नगरी कसैको हुकुम प्रमाणित गरेका छन् । उनको भनाइमा धेरैले सहमति जनाएका छन् । बाजुराको बूढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले पनि सुदूरपश्चिमको राजनीति केही गुटिया र नवदलालको हातमा पुगेको टिप्पणी गरेका छन् । बाजुरा पुख्र्यौली घर भएकी सन्तोषलाई स्थायी समिति सदस्य कर्णबहादुर थापा नातेदार र निकट भएको आरोपमा महासचिव पोख्रेलको निर्देशनमा रोकिएको चर्चा छ । महासचिवसँग लामो समय निकट रहेका थापा पछिल्लो पटक टाढिएका छन् । थापाले प्रदेश इञ्चार्ज हुन खोजिरहेकोमा अघिल्लो पटक दिइएको खेलकुद खोसेर यो पटक सामान्य प्रशासन विभागमा राखिएको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू