थाईल्याण्डका प्रधानमन्त्री अदालतको आदेशले बर्खास्त

थाईल्याण्डका प्रधानमन्त्री अदालतको आदेशले बर्खास्त
सुन्नुहोस्

थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिन बर्खास्त भएका छन् । जेल सजाय भुक्तान गरेका पूर्ववकिल पिचित चुएनबानलाई मन्त्रिपरिषद्मा सहभागी गराएको आरोपमा त्यहाँको संवैधानिक अदालतले थाविसिनलाई बर्खास्त गरेको हो । 

अदालतले थाविसिनले नैतिक आचरण उल्लंघन गरेको र अवज्ञाकारी व्यवहार गरेको बताएको छ । त्यस्तै, नयाँ प्रधानमन्त्री चयन नहुन्जेलसम्म उपप्रधानमन्त्री फुमथम वेचायाचालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेको छ । 

प्रधानमन्त्री पद गुमाएका थाविसिन अदालतको फैसाल स्वीकार गर्नुको विकल्प नभएको प्रतिक्रिया दिएका छन् । उनले आज पत्रकारसँग भने, ‘अहिले मलाई भन्नु केही छैन, अदालतको फैसलालाई स्वीकार गर्नैपर्ने हुन्छ, अब सबै अधिकार कार्यवाहक प्रधानमन्त्रीसँग छ ।’ 

थाविसिनले मन्त्री बनाएका पिचित सन् २००६ देखि विभिन्न भ्रष्टारचारको मुद्धा खेपिरहेका व्यक्ति हुन् । उनीमाथि विभिन्न सरकारी जग्गा हत्याएको र बैंकिंग कसुर गरेको आरोप छ । 

समाचारहरुका अनुसार सन् २००८ मा आफ्नो पक्षमा फैसला गरिदिन भन्दै अदालतका दुई न्यायाधीशलाई खाना बोक्ने झोलामा करिब दुई मिलियन थाई भाट राखेर घुस खुवाउने प्रयास गरेका थिए । र, पनि उनलाई थाविसिनले आफ्नो मन्त्रिमण्डलमा सहभागी गराएका थिए । 

नौ सदस्यीय संयुक्त इजलाशले प्रधानमन्त्रीलाई बर्खास्त गर्ने फैसला सुनाएपछि थाइल्याण्डको राजनीति तरंगित भएको छ । फैसलाअघि न्यायाधीशहरुकै धारणा बाझिएको थियो । चार न्यायाधीशले थाविसिनले नैतिक रुपमा आफैँ राजीनामा दिनुपर्ने राय राखेका थिए भने बहुमत (पाँच जना)ले बर्खास्त नै गर्नुपर्ने मत राखे । 

बहुमत न्यायाधीशको धारण मिलेपछि संविधानको धारा १७० (४) र (५) अनुसार बर्खास्त गर्ने फैसला सुनाइएको हो । अदालतले सभामुखलाई नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ । ४९३ सांसद रहेको संसदमा प्रधानमन्त्रीको लागि २४७ बहुमतसहित दावी पेश गर्न सक्नेछन् ।

टिप्पणीहरू