नमिल्ने कुरा नगर्न एमाले अध्यक्षको आदेश

नमिल्ने कुरा नगर्न एमाले अध्यक्षको आदेश

एमालेका केही नेता आजभोलि एउटा गुनासो गर्छन् – खोइ कतै बोलाइँदैन, कसैले सोधपुछ गर्दैन, हाम्रो त खोजी निन्दा नै छैन । यस्तो गुनासो गर्नेमा उपप्रधानमन्त्री विष्णु पौडेलदेखि चर्चित नेता पृथ्वीसुब्बा गुरुङसमेत रहेका छन् । अब प्रश्न उठ्छ । त्यसोभए केपी ओलीबाहेक एमालेमासबैले रोज्ने र खोज्ने नेता को हुन् त ?  जवाफ आउँछ– महासचिव शंकर पोखरेल ।

हुन पनि अहिले कस्तो देखिँदै छ भने पार्टी महासचिव शंकर पोखरेल पर्यटन इलाका कमिटीको कार्यक्रममासमेत उपस्थित हुने र त्यहाँका कार्यकर्तालाई रिझाउने काममा व्यस्त छन् । पोखरेलकी पत्नी सुजिता शाक्य इञ्चार्ज रहेको एउटा विशेष जिल्ला कमिटी छ । जसको अध्यक्ष हुन्, प्रेम पराजुली । सो अन्तर्गत रहेका १४ वटा इलाकामध्ये एउटाको कार्यक्रममा गत हप्ता पोखरेल सहभागी भएका हुन् । उनको त्यो इलाकाप्रति यस्तो लगाव किन ! यो प्रश्नको जवाफ हो त्यहाँ दुर्ई/चार पैसा खेलाउने व्यापारी साथीहरू हुन्छन् जसले होटल, टुरिज्म, ट्रेकिङलगायत व्यवसाय सञ्चालन गरिरहेका छन् । यो विषयलाई किन अचम्मको मानिँदै छ भने अहिले पार्टी अध्यक्ष प्रधानमन्त्री छन् । त्यसो हुँदा पार्टीका हरेकजसो काममा महासचिव नै सक्रिय बन्नुपर्छ । तर, उनी वडा र पालिका तहका कार्यक्रममासमेत पुग्न भ्याइरहेका छन् । त्यसो त यसको अर्को पनि कारण छ । मानिसले त्यो व्यक्तिलाई खोज्छन् जसको बोली बिक्छ । 

केही साताअघि सिंहदरबारको गेटैमा नक्सा पास नगरी बनाएको भन्दै विवादग्रस्त होटल बसेरामा ओलीले पार्टीको बैठक बसाएका थिए । त्यो बेला ओलीले म स्वस्थ्य रहुञ्जेल बालुवाटारमा बैठक बसाउँदिन भनेर प्रतिवद्दता जनाएअनुसार नै त्यहाँ बैठक आयोजना गरिएको बताइन्छ । बेला बेला बिसञ्चो हुँदा यदि, बालुवाटारमा पार्टीको बैठक राख्नुपर्‍यो भने त्यसबेला कसैले त्यो विषयमा आलोचना नगरुन् भन्ने उद्देश्य रहेको पार्टी नेताहरू बताउँछन् । 

तर, त्यो बैठकमा प्रदेश अध्यक्षहरूलाई पदेन केन्द्रीय सदस्यकै हैसियतमा मात्रै राख्ने भनेर उनले जुन घोषणा गरे, त्यसले भने केही नेतालाई चित्त दुखेको छ । प्रदेश अध्यक्षहरूलाई आफ्नो पक्षमा तान्न पार्टीको विधान नभएको पोलिटब्युरो कमिटी सदस्यसरहको मान्यता दिने परिपत्र यिनै महासचिवले जारी गरेका थिए । तर, ओलीले त्यो परिपत्र खारेज गर्दै पदेन सदस्य निर्वाचित केन्द्रीय सदस्यभन्दा तल रहने भन्दै स्तर निर्धारित गरिदिएपछि भने पहिले सर्कुलर गर्नेहरू अप्ठ्यारोमा परेका छन् । यसरी दर्जा घटाउँदा ओलीको भनाई थियो, ‘के त्यसोभए जिल्ला अध्यक्ष प्रदेशको पदेन सदस्य हुन्छ । यदि, प्रदेश कमिटी सदस्यभन्दा माथि हुने भए के उसको हैसियत केन्द्रीय सदस्य बराबर हो त ? त्यसैले यस्तो नमिल्ने कुरा नगर्नुस् । पदेन सदस्य केन्द्रीय कमिटीमा पनि तल्लो दर्जाको सदस्य हो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू