अष्टलक्ष्मी अनि झन् आक्रोशित

अष्टलक्ष्मी अनि झन् आक्रोशित

एमाले मुख्यालयमै अध्यक्ष केपी ओलीको खुल्लमखुला आलोचना ?– झट्ट सुन्दा धेरैलाई पत्यार लाग्दैन । तर, गत हप्ता च्यासलस्थित कार्यालयको क्यान्टिनमा गफिनेहरू ओलीकै कारण पार्टी बिग्रिएको निश्कर्षमा मात्र पुगेनन्, विकल्प सोच्नुपर्ने निचोड पनि निकाले ।

‘यिनी अब कुनै हालतमा सुध्रिनेवाला छैनन्’, नेतृहरूलाई वरपर राखेर उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्, ‘तर, निराश हुनु हुँदैन कमरेडहरू, तपाईं–हामीले नै हो आन्दोलन जोगाउने !’ कांग्रेससँगको सत्ता समीकरण र पछिल्लो कार्य विभाजनमा असहमत रहेकी अष्टको आक्रोश पोखियो– ‘जसलाई मन लाग्यो उसलाई जिम्मेवारी दिएको छ, रिजल्ट नचाहिने, यस्तो मनलाग्दी गरेर पनि कहीँ पार्टी बन्छ !’

बिन्दा पाण्डे, रचना खड्का, उषाकिरण तिमिल्सिना, अनेमसंघकी महासचिव पेम्बा लामा, क्रान्ति बुर्लाकोटीलगायतले उनको कुरामा मौन समर्थन जनाएका थिए । गफैगफमा अष्टले सचिवालय बैठकमा आफूले राखेको धारणा पनि सुनाइन् ।

‘यो कस्तो खालको बैचारिक एकता हो, दुनियाँमा कतै पनि नहुने कुरा किन र के उद्देश्यले गरेको ?’, कांग्रेससँग मिलेर सत्ता चलाउने निर्णयको विरोधमा आफूले जोडदार प्रश्न राखेको तर उपाध्यक्ष युवराज ज्ञवालीबाहेक अरुको साथ नपाएको उनको गुनासो थियो । 

‘सचिवालय बैठकमा यस्तो प्रश्न गर्दा अध्यक्ष ओलीले के भने ?’ ‘हामी किन कांग्रेससँग मिल्छौँ र, कांग्रेससँग त मुख्य प्रतिष्पर्धा छँदै छ, अहिलेको गठबन्धन रणनीतिक हो,’ ओलीले दिएको जवाफ अष्टले त्यहाँ सुनाइन् । चिया गफमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टीमा सम्भावित आगमनबारे पनि कुरा चल्यो । एक जनाले यसबारे चासो राख्दा अष्टले भनिन्, ‘के त्यस्तो तिलस्मी कुरा छ र संगठनमा ल्याउनुपर्‍यो ?’

अध्यक्ष ओलीसँगको समझदारीमै भण्डारी पार्टीमा फर्किने सम्भावना देख्ने अष्टको कुरा सुनेकी एक नेत्री भन्छिन्, ‘उहाँ अध्यक्षको वेलकम कुरेर बस्नुभएको जस्तो लाग्छ । तर, पछिल्लो कार्य विभाजन हेर्दा अध्यक्ष उहाँलाई वेलकम गर्न तयार हुनुहोला भन्ने लाग्दैन ।’ कटाक्ष गर्दै उनले भनिन्, ‘सिपाहीले दुइटा कुममा समातेर झुण्ड्याउँदासम्म ओलीले अरुलाई ठाउँ दिने देखिँदैन !’

एमालेमा जिम्मेवारी हेरफेर गर्दा काखापाखा गरिएको भन्दै चर्को असन्तुष्टि छ । राजकीय र पार्टी सत्ता आफू अनुकूल बनाउने र महाधिवेशनमा ‘झ्यापझुप’ पार्ने रणनीतिअनुसार विष्णु रिमालले बालुवाटारमा बसेर ल्यापटपमा निकालेको हिसाबका आधारमा कार्य विभाजन गरेको बताउने शीर्ष नेताहरू एमाले ‘थ्री पिस’को पार्टी बन्दैछ भनिरहेका छन् ।

केपी ओली, चुनाव नलडेका विष्णु रिमाल र चुनाव हारेका शंकर पोखरेलको कब्जामा पार्टी पुगेको बताउने एक नेता भन्छन्, ‘थ्री पिसवालाको ध्येय महाधिवेशनमा एकलौटी गर्नेतर्फ लक्ष्यित देखिन्छ ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू