जसले दुनैको लडाइँमा बन्दुक लुकाए

जसले दुनैको लडाइँमा बन्दुक लुकाए

फौजमा लडाइँ लड्नेले अनेकन थरी सौर्यचक्र प्राप्त गर्छन् । शान्तिकालमा पनि राम्रो काम गर्ने पुरस्कृत हुन्छन् भन्ने मान्यताविपरीत लडाइँ गर्न नमान्ने एक जना हाकिमलाई नेपाली सेनाले, एकै ठाउँमा राखेर पुरस्कृत गरेको छ ।

०५७ असोज ८ गते राति डोल्पाको सदरमुकाम दुनैमा माओवादीले आक्रमण गरी ध्वस्त बनाउँदा हात बाँधेर बस्ने तत्कालीन गुल्मपति दिपक अधिकारीलाई वर्षौंदेखि भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पको हाकिम बनाएर सेनापति प्रभुराम शर्माले घर जातेजाते काज थमौती गरिदिएका छन् । जबकि उनैले ३ वर्षअघि पदभार ग्रहण गर्नासाथ यी पम्प र क्यान्टिनका हाकिमले शशी भवनमा मासिक ४ लाख नजराना बुझाउन ल्याउँदा आफूले हप्काएर पठाएको भनी अफिसरहरुलाई ब्रिफिङ गरेका थिए ।

स्रोतका अनुसार २४ बेसिकका अधिकारीलाई पूर्णचन्द्र थापा सेनापति हुँदा सो पम्पको हाकिम बनाइएको थियो । त्यसदेखि नै उनी त्यहीँ हाकिमको जिम्मेवारीमै छन् । उनी प्रभुराम शर्माको मदर युनिट पुरानो गोरखगणमा थिए । अहिले के कारणले हो तिनैलाई बिदा बस्नुअघि शर्माले एक वर्ष करार सेवा थपेका छन् । काठमाडौैंको डाँछी निवासी भूतपूर्व लेखा महासेनानी अधिकारीलाई पेट्रोल पम्पको हाकिममा म्याद थपेपछि स्वभाविक रूपमा प्रश्न खडा हुने नै भयो । 

दुनैमा नेपाल प्रहरीले थ्रिनटथ्री राइफलका भरमा लड्दा १ राउण्ड पनि गोली नचलाई आधुनिक हतियार सिरानी हालेर बसेका यिनै अधिकारीको कैफियत औंल्याउने क्रममा गृहमन्त्री गोविन्दराज जोशी, सचिव पदमप्रसाद पोख्रेल र आइजिपी अच्युतकृष्ण खरेललाई पदबाटै हटाइएको थियो । त्यसो त अधिकारीलाई पनि गुल्मपतिबाट तत्कालै हटाइयो । तर, मिलाएर कुरा गर्न खप्पिस उनले घरि पेट्रोल पम्पको हाकिम त घरी लेखा फाँटको जिम्मेवारी लिँदै सम्पत्ति जोड्न भ्याएको दाबी स्रोतको छ ।

अर्कोतर्फ मसे अधिकारीकै ससुराली नाताखलकका भक्तपुरको नलिन्चोके हाकिम भनी चिनिने भूतपूर्व मानार्थ जर्नेल भाइकृष्ण खत्रीलाई पनि जाँदाजाँदै शर्माले महांकालस्थित सपिङ कम्प्लेक्सको हाकिम बनाएका छन् । जागिरको धेरै वर्ष त्रिभुवन आर्मी क्लबमा बसेका खत्रीले महिला खेलाडीसँग पनि राम्रै सम्पर्क गर्न खोज्थे भनिन्थ्यो । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू