केपीको किर्तेले जनमुक्तिमा कोलाहल

केपीको किर्तेले जनमुक्तिमा कोलाहल

गोरेबहादुर खपांगी, एमएस थापाजस्ता जनजाति हस्तीहरुले जन्माएको राष्ट्रिय जनमुक्ति पार्टीका वर्तमान अध्यक्ष केपी पालुङ्वाको किर्ते काण्डले अहिले रडाको मच्चिने अवस्था सिर्जना भएको छ । केन्द्रीय समितिले गर्दै नगरेका निर्णयहरु धमाधम आफूखुशी किर्ते माइन्युट गरेर निर्वाचन आयोगमा पेश गरेपछि यो विवाद भुसको आगो जस्तै फैलिन थालेको छ ।

प्राप्त सूचनाअनुसार राजपाले वैशाखको अन्तिम साता चितवनमा विधानसभा राखेको थियो । आउने मंसिरमा पोखरामा हुने निश्चित भएको महाधिवेशनमा लैजाने विधानबारे छलफल गर्न आयोजित उक्त सभाले पूर्वतिर क्रियशील लिम्बुवानका दुई घटकहरुलाई पनि मिलाउने निर्णय गरेको थियो ।

सोही कुरा निर्वाचन आयोगलाई जानकारी गराउने जिम्मा लिएका अध्यक्ष केपीले छुट्टै माइन्युट खडा गरी छुट्टै विधान दर्ता गरेको बताइन्छ । अझ पार्टीको केन्द्रीय तहमा रहेका झण्डै दुई दर्जन नेताको नाम आयोगसमक्ष नपठाएकोले थप रडाको मच्चिएको छ । यो सबै कार्यको मुख्य जिम्मेवार अध्यक्ष केपी र पूर्वको कोटाबाट महासचिव भएका पदम जवेगु लिम्बुलाई ठानिएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालयमा दिनहु जसो छलफल बैठक हुने गरेको भए तापनि यी दुई जना पूर्वबाट काठमाडौं आएका छैनन् । अध्यक्षका कारण सिर्जित समस्याले पार्टी नफुटोस् भनी ८० नाघेका संस्थापक अध्यक्ष एमएस थापा र कार्यकारी अध्यक्ष केशव सूर्यवंशी मगर कहिले निर्वाचन आयोग त कहिले केन्द्रीय कार्यालयतिर दौडिरहेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू