प्रधानमन्त्री स्वयंद्वारा नाम काटकुट
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले विभिन्न मन्त्रालयका सहसचिवहरुको सरुवा गर्दा आफैंले नाम काटकुट गरेका छन् । ओली आफू नेतृत्वको सरकार सफल बनाउन यस्तो खुद्रे काममा आफैं अघि सरेको र राष्ट्रिय योजना आयोग, सतर्कता केन्द्र, श्रम, उद्योग र राष्ट्रिय सुरक्षा परिषद्लाई सबैभन्दा ठूलो निशाना बनाएको बताइन्छ । रातो मसीले केरमेट गर्दै पहिलो लटमा ६० जना सहसचिवको सरुवा गरिएको छ ।
दोस्रो लटमा पनि हाराहारीको मेलो निकालेको बताइन्छ । महावाणिज्यदूत रिक्त रहेका कोलकाता, ल्हासा, हङकङ र छन्तुलगायतका चार शहरलाई यो सरुवामार्फत् प्राथमिकतामा राखिएको छ । भ्रष्टचार र अनियमितताको आरोप लागेका रितेश शाक्य र टंकप्रसाद पाण्डेलाई अतिरिक्त समूहमा लगेर थन्काइएको छ । त्यसैगरी माओवादी केन्द्र समर्थक भनी लेबल लागेकाहरुको पनि अदलिबदली गरिएको छ । यसरी छानी छानी सरुवा गरिएकामा चक्रबहादुर बुढा, अर्जुन भण्डारी, शिव तिवारी, नरेन्द्रकुमार राना छन् ।
चण्डीप्रसाद घिमिरेलाई उद्योग तथा वाणिज्य मन्त्रालयबाट अर्थमा लगिएको छ । उनलाई राजश्व अनुसन्धानको महानिर्देशक बनाउने तयारी छ । संघीय मामला मन्त्रालयबाट सुमन दाहाललाई प्रधानमन्त्री कार्यालयअन्तर्गत सम्पत्ति शुद्धिकरण विभागको जिम्मेवारी दिने तयारी छ ।
एमाले नजिक भनेर चिनिएका रघुराम विष्टलाई निर्वाचन आयोगबाट पेलेर गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा पठाइएको छ । यसअघि भौतिक पूर्वाधार मन्त्रालयमा रहेका उनलाई निर्वाचन आयोगमा पठाइएको थियो । त्यसअघि सुदूरपश्चिम प्रदेशमा थिए । विनोदबहादुर कुँवर प्रधानमन्त्री ओलीको स्वकीय सचिव भएका छन् । विन्देश्वरप्रसाद गृहमन्त्री रमेश लेखकका नजिक मानिन्छन् । उनलाई पनि कन्सुलेट जनरल बनाउने गरी परराष्ट्रमा सरुवा गरिएको बताइन्छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू