कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् !
अहिलेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीतर्फ देखाएर दार्शनिक नेता तथा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य रुपचन्द्र बिष्टले बेला–बेला परिचय गराउँथे– ‘वादी पहिला आए वादीका कुरा ठीक, प्रतिवादी पहिला आए प्रतिवादीका कुरा ठीक भन्दै पैसा खाँदै बुद्धि बेच्ने मान्छे हुन् यी बोपाटु ।’
‘वादी पहिला आए वादी ठीक, प्रतिवादी पहिला आए प्रतिवादी ठीक’ भनेर व्याख्या गर्ने वकालती पेसालाई व्यंग्य गरेको त प्रायःले बुझ्थे । बोपाटु भनेको बिडारीको छद्म नाम होला भन्ने पनि सबैले सोच्थे । जनमुखी बलबाट पञ्चायतकालमै मकवानपुरबाट थाहा अभियान चलाउँदा नेता बिष्टले सहकर्मीहरू जुनियरहरू ज्योति रायमाझीलाई काग, अहिलेका अर्बपति अजेय सुमार्गीलाई हल्लुँड, काँकडाका मानबहादुर मुक्तानलाई जनमुखी कान्छाजस्ता नाम दिएझैँ वरिष्ठ अधिवक्ता रामनारायण बिडारीलाई बोपाटु नाम दिएका थिए । बोपाटु नाम सुनेर बिडारी हाँस्थे मात्र । तर, अर्थ बुझेका थिएनन् ।
एकदिन त्यस्तै प्रसंगमा रुदाने (रुपचन्द्र बिष्ट दामन, नेपाल) सँग बिडारीले सोधे– यो बोपाटु भनेको के हो रुदाने ? रुदानेले जवाफ दिए, ‘बोक्राको पाप्राको पनि टुप्पा’ अर्थात् छोटकरीमा बोपाटु । कुरा बुझेर बोपाटु मुसुक्क हाँसे अरे ! रुदानले नै पढाएका र उनकै स्कुलिङबाट हुर्केका बोपाटुलाई रुदानेले राम्रो सम्भावना देखेर सहकर्मीमाझ भनेका थिए, ‘हुन त यो भित्र ठूलो रूखको बीज छ, हुर्काउन र मलजल गर्न जान्यो भने यो भातेले निकै राम्रो गर्न सक्छ । तर, यसले गर्दैन । रूखको बीज भएको मान्छे रूख हुन नसके पनि हाँगा त हुनू । हाँगा हुन नसके पनि डाँठ र पातहरू त हुनू । तर, यो भाते कामै नलाग्ने रूखको बोक्राको पाप्राको पनि टुप्पा भइदियो ।’
मकवानपुर र काठमाडौँका छाप्रे (गरिब, सर्वहारा) लाई जगाउने अभियान चलाएका रुपचन्द्रको थाहा अभियान असफल भएको उनकै स्वीकारोक्ति छ । तत्कालीन समयमा मिडिया पहुँच नहुँदा घरघरै पुगेर ‘जीवन, जगत, राजनीति र समाज ‘थाहा’ भएमा मान्छेले सुख पाउने र थाहा नपाए तिमीहरूकै जस्तो नारकीय जीवन पाउँछस् भातेहरू’ भन्दै हिँडेका रुदानेलाई त्यतिखेरका शोषक, शासक र स्थानीय सामन्तीले बौलाहा भन्थे । गाउँबस्ती जगाउन, यथास्थितिमा चलिरहेको समाजलाई रुपान्तरण गर्न खोज्नेहरूलाई बौलाहा उपमा पाउने रुदाने मात्रै होइन, अरु जागरणकर्ताहरू पनि टन्नै छन् संसारमा ।
‘थाहा आन्दोलन’ अर्थात् जनताले थाहा पाउनै पर्छ भन्ने आन्दोलन । ‘बुद्धले थाहा पाएर बुद्ध बने, क्राइस्टले थाहा पाएर क्राइस्ट बने, संसारका सब मानिस थाहाका उपज हुन्, सप्रेका देश, थाहा पाएर सप्रे, बिग्रेका देश भ्रममा परेर बिग्रे, भ्रमै भ्रममा बाँचेर बिग्रेको यो देशको एउटा नागरिक तपाईं थाहा पाउनुुस्, देश सप्रिन थालिहाल्छ’–रुदाने वाणी हो यो ।
मकवानपुर र काठमाडौँका हजारौँ छाप्रेलाई जागृत गराएर पञ्चायती व्यवस्थाविरुद्ध, महिला अधिकार र बालबालिकाको शिक्षाका सम्बन्धमा बुलन्द आवाज उठाएर दार्शनिक नेता कहलिएका रुदानेको २०५६ साल असार ७ गते काठमाडौँको वीर अस्पतालमा निधन भएको थियो । उनकै इच्छामा उनले मृत्यु रोजेका थिए । अर्थात् आत्महत्या त होइन, तर रुदानेकै भाषामा उनी जन्मनुको अर्थ पुष्टि भएन र सपनाहरू सबै निख्रिएपछि धर्तीलाई भारी बन्नु हुँदैन । यही सोचेर उनले जतिसक्दो अब मर्नुपर्छ भनेर स्वास्थ्यको ख्याल राखेनन् । बिरामी हुँदा पनि रक्सी, राँगाको मासु र चुरोट निरन्तर पिए । मिर्गाैला र फोक्सोसम्बन्धी समस्याबाट ग्रस्त उनी अन्तिम घडीसम्म पनि आफूलाई भेट्न आउनेहरूलाई ‘थाहा पा भाते’ भन्दै थाहाकै प्रवद्र्धन गरिरहे ।
अहिले बजारमा लेखक टंक चौलागाईंले रुदाने नामको उपन्यास प्रकाशनमा ल्याएका छन् । त्यो उपन्यासको समापनमा अन्तिम प्रत्यक्षदर्शीकी रुपमा रुदानेकी बहिनी गीताको बक्रपत्र छ । जहाँ भनिएको छ, ‘मैले दाइले लेखेका २५....थाहा....भाते सम्झिएँ । खियाले खाएको फोहोर नै फोहोर भएको त्यो कन्तुरनजिक गएँ, कन्तुरमा ताल्चा’ ।
जीवनका सबै सपना सकिएको र छाप्रेहरूलाई जागृत गर्न नसकिएको निष्कर्षसहित रुदानेले प्राण त्याग्नुअघि नै उनैले दर्ता गरेको नेकपा (जनमुखी) लाई पुष्पकमल दाहाल, स्वनाम साथी, निर्मल लामाहरूसँग मर्ज गरेपछि उनका अनुयायीहरू बिचल्लीजस्तै भएका थिए । मकवानपुरमा उनैले हुर्काएका र सिकाएका कार्यकर्ता एमाले, कांग्रेसलगायत विभिन्न पार्टीहरूतिर लागे । उनैले पार्टी राजनीति गर्ने हो भने जनमोर्चामा जानू भनेर धेरै कार्यकर्तालाई त्यता सिफारिस पनि गरेका थिए ।
नेकपा माओवादी सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आएपछि जनमोर्चा नेपाल पनि नेकपा माओवादीमा गाभिएपछि रुदानेका ती कार्यकर्ता पनि अहिले माओवादीमा छन् । ती कार्यकर्ताको भीडमा अग्रस्थानमा देखिन्छन् छोटा कदका ‘बोपाटु’ अर्थात् रामनारायण बिडारी ।
खासगरी सुमार्गी कूलघरानाको आधिकारिक कानुनी सल्लाहकार र परिवारका सदस्यजस्तै छवि बनाएका बिडारी राष्ट्रपतिको सिफारिसमा संविधानसभा सदस्य पनि बने । राष्ट्रिय सभा सदस्य बने । अहिले रुदानेका खास प्रतिनिधिका रुपमा मान्छेहरूले बोपाटुलाई नै चिन्छन् । उनै बोपाटु अहिले रुपचन्द्र बिष्टले चढ्ने ‘थाहा’ लेखिएको मोटर यदाकदा चढ्छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग उनी नजिकिएका छन् ।
वाम गठबन्धन हुँदा उनलाई मकवानपुरमा राजनीति गर्न निकै सजिलो भएको थियो । तर, केपी ओलीले २०७७ साल पुस ५ गते संसदमा ‘कु’ गरी अवैधानिक रुपमा विघटन गरेपछिका दिनहरू उनका लागि कष्टकर हुँदै गए । वर्ग नमिल्ने पार्टी कांग्रेससँग मन मिलाएर हिँड्नु उनका लागि निकै ठूलै कुरा थियो । त्यसमाथि आफूले टिकट पाउने ठूलो आशा राखेका उनका लागि विरोध खतिवडा मकवानपुरमा शक्तिशाली भएर पुनः उदाइदिए । ओलीको कदमको लिखित, मौखिक र स–शरीर उपस्थित भएर विद्रोह गरेका र ओलीकै तेजोबधका निम्ति पार्टी फुटाउने लिखतमा हस्ताक्षर गरेका पूर्वमन्त्री खतिवडाका शक्तिसामु बोपाटु निरीह देखिनु स्वाभाविक थियो । उनले टिकट पाउन हरेक प्रयत्न असफल भएपछि बोपाटुको अर्काे बाटो बाँकी थियो–विरोध खतिवडालाई चुनाव हराउने ।
हुन त खासै बोपाटुको प्रभाव मकवानपुरमा देखिन्न । भएका केही जनमोर्चाका इमान्दार नेता पनि उनकै कारण एमालेतिर लागिसकेका छन् । बलराम बल, नरेन्द्र रिजालहरू एमालेतिर लागिरहँदा नयाँशक्ति हुँदै खिइँदै खिइँदै गएर रुदानेले काग नाम दिएका ज्योति रायमाझीहरू घण्टीवालाहरूको सभामा भाषण गर्ने हैसियतमा पुगेको प्रष्ट देखिन्छ । बोपाटुले ओलीविरुद्ध बनेको कांग्रेस, माओवादी, समाजवादीसहितको गठबन्धन असफल पार्न मकवानपुर क्षेत्र नं २ मा खटिए । र, विरोध खतिवडालाई हराउनका लागि लक्का जवान महेश बर्ताैलातिर माहोल बनाउन लागे । माओवादीभित्रका बोपाटुनिकट पूर्व जनमोर्चाहरूको एउटै नारा थियो– रुदानेविरोधी विरोध खतिवडालाई हराउने मौका यही हो । यही सूत्रले काम गर्यो र संसदीय अभ्यासमा निरन्तर विजयी इतिहास बनाएका खतिवडालाई दोस्रो पटक २०७९ को संसदीय चुनावमा हार प्राप्त भयो ।
यतिखेर चकनाचुर बनेको थाहा आन्दोलनको पुनर्गठन हुन सकेको छैन । कोही कता, कोही कता पुगेका छन् । तैपनि, रुदानेको स्मृति दिवसताका सबै जना एक दिनका लागि एकै ठाउँ भेट हुन्छ । रुदाने बाँचुन्जेल पार्टी र संगठन बनाउने कुरामा राजी नभए पनि अहिले पनि पुराना मान्छे समेटेर संगठित हुने हो भने पार्टी बन्ने अवस्था त्यति चुनौतीपूर्ण छैन । अझ रुदानेको आदर्श र थाहा अभियानलाई पुनर्जागरण गर्ने हो भने फेरि पनि एउटा सन्देश मकवानपुरले दिन सक्ने अवस्था नभएको होइन । तर, बोपाटुहरू रुदानेकै गाडी चढेर ‘रुदाने नभए पनि हामी छौँ’ भन्ने शैलीमा थाहाको नाम बेचिरहेका छन् । रुदानेले नै आफ्नै फोटोकपी मानेका बोपाटुका सामु टंक चौलागाईंद्वारा लिखित ‘रुदाने’ उपन्यासमा उल्लेख भएको कन्तुर खोल्ने र युवाहरूलाई देखाएर पढाएर रुदानेको उज्यालो पक्ष युवाहरूलाई बाँड्ने जिम्मेवारी छ । किनकि रुदानेले मर्ने बेलामा ‘२५.......थाहा.........भाते’ लेखेको अहिले २५ वर्ष भयो । उनीप्रति सम्मान गर्ने हो भने अब कन्तुर खुल्नुपर्छ । कन्तुरभित्र राखिएका सन्देश नौजवान युवाहरूमा फिँजाइनुपर्छ ।
रुदानेपछिको अग्लो मान्छे भएको नाताले ती सबै कार्य गर्न बोपाटु तयार छ कि छैन ? अरु सहायक बोपाटुहरूले पनि यो कुरामा बोपाटुलाई झक्झक्याउनुपर्छ कि पर्दैन ? थाहाको नाम बेचिखाने र उद्योग गर्नेहरूले यसबारे बोपाटुलाई साथ दिनुपर्छ कि पर्दैन ? बोपाटु झैँ रुदानेले नाम दिएका हल्लुँड र कागहरूले पनि कन्तुर खोल्ने र नौजवानहरूलाई ‘थाहादर्शन’ सिकाउनेबारे ध्यान दिनेबारे हेक्का राखेस् । हो कि होइन थाहा चाहियो भाते !
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू