गिरीबन्धुको कुरो चर्काएपछि एमालेको आग्रहपूर्ण चेतावनी

गिरीबन्धुको कुरो चर्काएपछि एमालेको आग्रहपूर्ण चेतावनी
सुन्नुहोस्

एमालेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई यसअघि प्रकाशित सूचना फिर्ता लिन आग्रहपूर्ण चेतावनी दिएको छ । मेयरले केही दिनअघि महानगरभित्रका नदी वरपर नापी नक्साबाट कायम रहेको दूरीको अतिरिक्त थप २० मिटर नजिकसम्म निर्माण निषेधित्र क्षेत्र घोषणा गरिएको र भइरहेका निर्माण कार्य रोक्न लिखित सूचना जारी गरेपछि एमालेको उक्त प्रतिक्रिया आएको छ । 

काठमाडौंका बागमती, विष्णुमती र टुकुचामा बाढीको जोखिम बढेको जनाउँदै महानगरले त्यस्तो सूचना प्रकाशित गरेको थियो । तर एमालेले आज सात बुँदे पत्र जारी गर्दै कानुनबमोजिम आर्जन गरेको चल अचल सम्पत्ति नागरिकले निर्विवाद रुपमा भोगचलन, बेचबिखन र धितो बन्धक समेत राखी प्रयोग गर्न पाउने नैसर्गिक अधिकार रहेको जनाउँदै मेयर साहलाई निर्णय फिर्ता लिन चेतावनी दिएको छ । 

काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘कानुन एवम् आपसी सहमति बाहेक व्यक्तिको निजी सम्पत्तिमाथि आक्रमण तथा हस्तक्षेप अन्त्य हुनुपर्छ ।’

एमालेले मेयर बालेनबाट जारी भएको सूचना तत्काल खारेज गर्नुपर्ने बताएको छ । ‘अन्यथा यस असामान्य परिस्थितिबाट गम्भीर परिणाम उत्पन्न हुनसक्नेतर्फ सचेत रहन आग्रह गरिन्छ’, पत्रमा उल्लेख छ । 

एमाले र मेयर शाहबीचको पछिल्लो विवाद कुनै नौलो होइन । एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र मेयर साहबीच ‘फेसबुक वार’ चल्दै आएको छ ।

खासगरी, मेयरले झापाको गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणलाई सतहमा ल्याएपछि एमाले पंक्ति चिढिएको बताइन्छ । केही साताअघि काठमाडौँका विभिन्न ठाउँ डुबानमा परेपछि मेयरले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेका थिए, ‘काठमाडौँमा लगभग दुई हजार परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईंले पचाउन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५ हजार परिवार व्यवस्थापन हुन सकिन्छ । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’

टिप्पणीहरू