प्रचण्ड भड्काउ खेलमा लागेको प्रधानमन्त्रीको आरोप
प्रधानमन्त्री तथा नेकपा एमालेका केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिस्थिति भड्काउने खेलमा लागेको आरोप लगाउनुभएको छ । सरकारबाट हट्नुपरेपछि प्रचण्डले अहिले सर्वसाधारणलाई भड्काइरहेको उहाँको भनाई छ ।
प्रधानमन्त्री ओलीले पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उहाँले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने क्रममा प्रचण्डले भदौ ११ गते प्रतिनिधिसभामा बोलेको क्षण स्मरण गर्नुभयो । उहाँको भनाई छ, ‘बंगलादेश र श्रीलंकाको उदाहरण दिँदै सदनमा जुन बोलियो, त्यो जिम्मेवार मान्छेले बोल्ने भाषा हैन ।’
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले आगामी ०८४ को निर्वाचनमा एमालेले कसैसँग पनि गठबन्धन नगर्ने उदेघोष गर्नुभयो । त्यसका लागि अहिल्यैदेखि तयारी थाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिइएको छ । ‘०८४ को निर्वाचनमा हामीले कसैसँग गठबन्धन गर्दैनौं । एक्लै लड्ने हो, लड्छौं । संगठनका साथीहरु त्यहीअनुसार दुरुस्त हुनुपर्यो । माथिको आदेश भन्दै कुरेर मात्र बस्ने हैन’, उहाँले थप्नुभयो ।
बैठकमा पार्टी सदस्यता नवीकरण र विस्तार, पार्टीको वैचारिक कक्षा सञ्चालन, जन सरोकारका विषयलाई समेट्न नेताहरुलाई फिल्डमा खटाउन लागिएको छ । नेताहरुको कार्यक्षेत्र र जिम्मेवारी पनि सोही बमोजिम बाँडफाँड गरिँदै छ ।
टिप्पणीहरू