नेपाल दोस्रो युक्रेन बन्ने खतरा बढ्दै गएको माओवादी र समाजवादीको ठहर

नेपाल दोस्रो युक्रेन बन्ने खतरा बढ्दै गएको माओवादी र समाजवादीको ठहर

माओवादी केन्द्रका महासचिव देव गुरुङले एमसीसीको नीतिलाई खबरदारी नगरे नेपाल दोश्रो युक्रेन बन्ने खतरा रहेको बताएका छन् । आज नेपाल कम्युनिष्ट पार्टीको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले एमसीसीलाई प्रतिवाद गर्नुपर्ने बताएका हुन् । 

अमेरिकाले चीनलाई घेराबन्दी गर्न सैन्य रणनीति अन्तर्गत नेपालमा एमसीसी ल्याएको गुरुङले दावी गरे । ‘अमेरिकाको रणनीतिमा बस्यो भने नेपाल दोस्रो युक्रेन बन्ने खतरा छ’, उनले भने, ‘सम्पूर्ण शक्तिहरू एकढिक्का भएर प्रतिवाद गर्नुपर्छ, प्रतिवाद गर्न सकियो भने मात्र मुलुक स्वाधीन बन्छ ।’ 

अमेरिकाले नेपालमा सैनिक क्याम्पको बाहनामा सुचना केन्द्र बनाउन खोजेको गुरुङको दावी छ । ‘अमेरिकाले सोझै सैनिक ल्याएर क्याम्प बनाउन भन्दा पनि सूचना केन्द्र बनाउन खोजेको छ, त्यसमा हामीले खबरदारी गर्नैपर्छ’, उनले थपे । 

त्यस्तै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पनि एमसीसीमाथि निगरानी गर्न संसदीय अनुगमन समिति बनाउन माग गरेका छन् । एमसीसीलाई जनताले अझै स्वीकार नगरिसकेको कारण राष्ट्रिय स्वाधिनता खतरामा रहेको उनको तर्क छ । 

उनले भने, ‘एमसीसीमाथि संसदीय अनुगमन समिति आवश्यक छ, व्याख्यात्मक टिप्पणी अनुसार लागु भइराखेको छ कि छैन ? त्यसमा के समस्या छ ? अनुगमन समितिले स्पष्ट पार्नुपर्छ ।’ 

महासचिव भुसालले सत्ता गठबन्धनका दलहरुलाई एमसीसीको सवालमा गम्भीर हुन पनि आग्रह गरे । थपे, ‘ओली र देउवाजीहरु अहिले सत्तामा हुनुहुन्छ, यदि साँच्चिकै जनताका छटपटी र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने दायित्वप्रति इमानदार हुनुहुन्छ भने यो पूरा गर्न माग गर्दछु ।’

टिप्पणीहरू