सदन र सडकबाट आवाज चर्काउने माओवादीको तयारी

सदन र सडकबाट आवाज चर्काउने माओवादीको तयारी
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुई दलीय शासनतिर लैजाने प्रयास भैरहेको भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ । 

पार्टी मुख्यालय पेरिसडाँडामा हिजोदेखि शुरु भएको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा उहाँले कुनै हालतमा दुई दलीय व्यवस्था ल्याउन नदिने बताउनुभएको हो । बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष प्रचण्डले जनतालाई सुसूचित गराएर प्रतिवाद गर्नुपर्ने बताएको जानकारी दिनुभयो ।

सबै प्रतिपक्षलाई समेत समाहित गर्दै अघि बढ्नुपर्नेमा अध्यक्षले जोड दिएको सापकोटाको भनाई छ । त्यस्तै, संसदमा माओवादी केन्द्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष पनि प्रचण्डले बैठकमा सुनाउनुभएको छ । 

माओवादीले नयाँ सरकार बनेपछि जनविरोधी गतिविधि बढेको र भ्रष्टाचारविरोधी अभियान रोकिएको भन्दै सडक र सदनबाट आवाज उठाउनुपर्नेमा जोड दिएको छ । यसबाट सरकार दलाल पुँजिपती, विचौलिया र माफियाहरुको पक्षमा छ भन्ने स्पष्ट भएको प्रवक्ता सापकोटाले बताउनुभयो । 

आसन्न केन्द्रीय समितिको बैठकको तयारीस्वरुप आयोजना गरिएको कार्यक्रमअन्तर्गत यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठक सम्पन्न भइसकेको छ । अब कोशी र मधेश प्रदेश तथा जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समितिको बैठक बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने उसको तयारी छ ।

 

टिप्पणीहरू