फौजीबाटै पत्नीहरु झन् असुरक्षित

फौजीबाटै पत्नीहरु झन् असुरक्षित
सुन्नुहोस्

सशस्त्र प्रहरीका तत्कालीन डिआइजी रञ्जन कोइरालाले २७ पुस ०६८ मा पत्नी गीता ढकालको घरैमा हत्या गरे । हत्यापछि प्लास्टिकमा बेरेर शव मकवानपुरको मेत्राङ पुर्‍याई जलाए । ८ माघमा शव जले–नजलेको हेर्न जाँदा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । सोधपुछका क्रममा हत्या गरेको स्विकारे । 

भदौ पहिलो साता अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको हत्या भयो । श्रीमान नरेश भट्टले नै शव लुकाएको भनिएको छ । अहिलेसम्म शव भेटिएको छैन । 

यी प्रतिनिधि दुई घटनाले ‘सबैभन्दा नजिक’को मान्छेले ‘सबैभन्दा सुरक्षित स्थान आफ्नै घरमा’ पनि मानिस असुरक्षित छ भन्ने देखाएको छ । श्रीमान र श्रीमतीबीच जत्ति नजिकको सम्बन्ध कसको हुन्छ ? आफ्नो घरभन्दा सुरक्षित अन्त कहाँ हुन्छ ? यो प्रश्नलाई दुई प्रतिनिधि घटनाले गलत सावित गरेका छन् । हत्यामा संंलग्न दुबै पति ‘फौजी’ हुन् तर सुरक्षाको जिम्मेवारी लिएकाबाटै आफ्नै श्रीमती असुरक्षित भएका छन् ।

यो मात्रै होइन ममताको हत्या भएको एक हप्ता नबित्दै भदौ १२ गते टेक्सास राज्यको ह्युस्टन शहरमा अर्की नेपाली युवती भोजपुरकी २१ वर्षीया मुना पाण्डेको गोली हानेर हत्या भयो ।

सन् २०२१ मा स्नातक अध्ययनका लागि गएकी मुना ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय अध्ययनरत थिइन् । प्रहरीले हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाहलाई पक्राउ गरी मुद्दा चलाएको छ । 

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा बन्दुकका कारण प्रत्येक ११ मीनेटमा एक जनाको मृत्यु हुने गरेको छ । तीमध्ये कम्तीमा ५५ प्रतिशत घटना आत्महत्याका हुन् । त्यस्तै, ४० प्रतिशत घटना हत्या र हिंसात्मक अपराधसँग जोडिएका विभिन्न तथ्यांकहरूले देखाएका छन् । अन्य घटना अञ्जानमा भएका र प्रहरी अधिकारीको कारबाहीसँग सम्बन्धित छन् । हतियारको सहज पहुँच भएको अवस्थामा आत्महत्याको जोखिम बढिरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । घरमा बन्दुकको पहुँचले आत्महत्याको सम्भावनालाई तीन गुणा बढाउँछ । आत्महत्या गर्न चाहने कुनै पनि व्यक्तिले बन्दुक पाएको खण्डमा ज्यान गुमाउने सम्भावना ९५ प्रतिशतभन्दा बढी हुन्छ ।

श्रीमान र श्रीमतीबीच जत्ति नजिकको सम्बन्ध कसको हुन्छ ? आफ्नो घरभन्दा सुरक्षित अन्त कहाँ हुन्छ ?

यो बन्दुक र जीवनको कुरा भयो । प्रविधि होस् या हतियार चलाउनेले सदुपयोग गर्‍यो भने कसैकोे ज्यान जोखिन्छ । दुरूपयोग गर्नेको हातमा पर्‍यो भने ज्यान जान्छ । यो त बन्दुकको कुरा भयो । गोलीबाट हुने आत्महत्या, आपराधिक काम र प्रहरीको कारबाहीबाट हुने हत्या जोड्दा प्रतिमिनेट ११ जनाको मृत्यु हुने गरेको छ । तर गोली हानेर अमेरिकामा बर्सेनि ४० हजारभन्दा धेरैको हत्या हुने गरेको छ । 

पछिल्ला तीन वर्ष प्रत्येकमा ६ सयभन्दा बढी सामूहिक गोलीकाण्ड भएका छन्– औसत दिनमा लगभग दुई । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो ७ वर्ष ६ महिनामा देशभर चार हजार तीन सय ७० को हत्या भएको छ । यसलाई आधार मान्दा प्रत्येक दिन १.५९ अर्थात् दुई जनाको हत्या हुने गरेको छ । हत्या भएका मध्ये करिब ८० प्रतिशत घटनामा चिनजान र परिवारभित्रकै सदस्य संलग्न रहेको पाइएको छ । पेशेवर प्रकृतिका अपराध जत्तिकै डरलाग्दो गरी घरभित्रै हत्या भइरहेको देखिन्छ । प्रहरी प्रधान कार्यालयको विवरणअनुसार नेपालमा हत्याका घटनामध्ये करिब एक तिहाइ आफन्तबाटै हुने गरेको छ । प्रहरीका अनुसार घरपरिवार र नजिकका आफन्तबाट हत्या हुनुमा अनैतिक सम्बन्ध, आर्थिक लेनदेन र घरायसी वादविवाद मुख्य कारण देखिएका छन् ।

हत्याको पछाडि यौन, सम्पत्तिको विवाद, घरझगडा जस्ता कारण मुख्य रहेका छन् । पछिल्लो समय श्रीमान्–श्रीमतीले एकअर्काको हत्या गर्ने क्रम पनि बढेको छ । श्रीमान् र श्रीमतीबीच आपसमा विश्वास गुम्दै जाँदा, परपुरुष या परस्त्री सम्बन्ध देखिँदा हत्या हुने गरेको पाइएको छ । तत्कालको रिस नियन्त्रण गर्न नसक्दा र अवैध सम्बन्ध लुकाउन हत्याका घटना हुने गरेको छ । आर्थिक अभाव र उच्च महत्वाकाक्षांका कारणले मानिसहरू क्रुर हुँदै गएको देखिन्छ । मानिसमा जिद्दी स्वभाव बढेको छ । सामान्य आवेगसमेत धान्न नसक्दा हत्या हुने गरेको छ । 

हुन त ठाउँ विशेष हत्या हुने हैन । भूगोल विशेष पनि हुने हैन । यदि त्यसो हुँदो हो त सुरक्षित भनिएको देश अमेरिकामा किन हत्या हुन्थ्यो, आफ्नै श्रीमानबाट, आफ्नै घरमा । अभिभावकले विदेशमा रहेको केटालाई छोरी दिँदा छोरीको भविष्य सुरक्षित हुने ठान्छन् । केटीहरू पनि पीआर र ग्रीनकार्ड हुने केटाहरूसँग वैवाहिक सम्बन्ध शुरु गर्दा जीवन सुरक्षित हुने ठान्छन् । तर ठाउँ र स्थायी आवासले कोही सुरक्षित र असुरक्षित हुने भन्ने हुँदैन । अपराध गर्नेले जहाँ पनि गर्छ गर्छ । विदेश जानलाई ऋण दिन छिमेकी तयार हुन्छन्, बैंक तयार हुन्छ । स्वदेशमै केही गरिखान्छु भन्दा बैंकले पत्याउन्न । ठूलो ऋण, महत्वकांक्षाले निम्त्याउने विनाश नै हो । त्यसतर्फ सबैको ध्यान जानुपर्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू