कसैलाई नपरुन् यस्ता ज्वाइँ

कसैलाई नपरुन् यस्ता ज्वाइँ
सुन्नुहोस्

अमेरिकाको भर्जिनिया राज्यको मनाससबाट बेपत्ता बनाइएकी काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नम्बर ६ की २८ वर्षीया स्वास्थ्य परिचारिका (नर्स) ममता काफ्लेको शव खोज्न प्रहरीले अगष्ट ३० का दिन भर्जिनियाको एक उद्यान (सिग्नल हिल पार्क) अस्थायी रूपमा बन्द गरेको छ । यता ममताको परिवार भावविह्वल र शोकाकुल छन् । 

नेपालबाट आमा र दाइ अमेरिका पुगेका छन् । श्रीमान् नरेश भट्टको अदालती कागजातमा नयाँ तस्बिर प्रमाणले घरबाट रगतको दागजस्तो भेटिएको देखिएको छ । २८ वर्षीया ममता अन्तिम पटक जुलाई ३१ का दिन युवीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन् । श्रीमती बेपत्ता भएपछि शव लुकाएको अभियोगमा नरेश भट्ट अहिले कारागारमा छन् । अगष्ट २९ का दिन नरेश भट्टको प्रारम्भिक सुनुवाइ अस्वीकार गरिएको थियो । न्यायाधीशले उक्त मुद्दा अब निर्णायक मण्डलले हेर्ने सुनाएका थिए । उनलाई धरौटीमा रिहा हुन भट्टका वकिलले राखेको निवेदन अस्वीकृत भएको छ ।

ममताको जन्म घर पनौती–६ नमोबुद्ध रोड, काभ्रेपलाञ्चोक हो । पुख्र्याैली घर साविक गोकुले गाविस र हालको महाभारत गाउँपालिका वडा नम्बर २ हो । ३० वर्षअघि गोकुलेबाट पनौती आएर मजदुरी शुरु गरेका ममताको बाबुआमाका तीन सन्तान छन् । दुई छोरा र एक छोरी । उनी दोश्रो सन्तान हुन् । स्थानीय नवरत्न माविबाट एसएलसी उत्तीर्ण गरी बनेपाको बेलरबाट कक्षा १२ सकाएकी उनले पैसा तिरेर नै बैंगलोरस्थित नर्सिङ्ग कलेजबाट उत्कृष्ट हिसाबले उत्तीर्ण भएकी थिइन् । उत्कृष्ट भएबापत छात्रवृत्ति प्राप्त गरिन् ।

२०७७ मंसिरमा बैतडी जिल्ला घर भई महेन्द्रनगर बेलडाँडी बसोबास गर्दै आएका नरेश भट्टसँग विवाह भयो । उनी परिवारका जेठा सन्तान हुन् । २०७८ साउन १० गते अमेरिका गएकी ममता कहिल्यै फर्किनन् । बिरामीको सेवा गर्दागर्दै आफैँ संकटमा पर्दा पनि परिवारलाई दुःख साँटेकी थिइनन् । पनौती–६ बस्ने बुबा कमल, आमा गीताकुमारी छोरी मारिएको खबरले धेरै दिनसम्म अचेत भए । 

ममतासँग हरेक दिनजस्तै कुराकानी गर्ने आमाले ३१ तारेखमा फोन गर्दा उठेन । लगातार १, २ र ३ तारेखमा फोन गरिन्, लागेन । ३ तारेखमा फोन गर्दा ज्वाइँले पनि उठाएनन् । लगत्तै नेपालमा रहेका नरेशका भाइहरू महेश र भूपेन्द्रलाई फोन गरेर सोधिन् । मतलब नभएको जस्तो गरी ओंठे जवाफ फर्काए । तत्कालै ज्वाइँ नरेशलाई भ्वाइस म्यासेज पठाइन् । धेरै दिन म्यासेज हेरेनन् । ५ तारेखका दिन छिमेकी सुनिता भण्डारीलाई फोन गरेर छोरीको खबर बुझिदिन अनुरोध गरिन् । सुनिताले नरेशलाई भेटेर खबर गरेपछि मात्रै भ्वाइस म्यासेज पठाउँदै छोरीले आधारभूत सामानसमेत लिएर निस्किएकाले थाहा नभएको बताए । साथै, छोरी हेरेर घरभित्रै बस्नुपर्ने भएकाले खोजबिन गर्न नसकेको जवाफ दिए । छोरी सुत्केरी भएका बेला सहयोग गर्ने सरिता न्यौपाने र उनका श्रीमान्सहितले छोरी धेरै दिनदेखि घरमा भित्र–बाहिर नगरेकाले प्रहरीलाई खबर दिएको जानकारी गराए । ज्वाइँ नरेशले भने निरन्तर ढाँटिरहे । आमा गीताकुमारीले ज्वाइँलाई छोरी मा¥यौ कि क्या हो भन्दा सियो हो र ? भन्ने जवाफ फर्काएका थिए ।

पनौती–६ का वडाध्यक्ष भीमप्रसाद आचार्यले समेत नरेशलाई फोन गरेर ममताबारे बुझेका थिए । उनलाई पनि त्यस्तै जवाफ मिल्यो । नेपाली समुदायको निरन्तर दबाबपछि त्यहाँको प्रहरीले नरेशलाई पक्राउ गरेको छ । छोरीलाई छिमेकी सरिता न्यौपानेले रेखेदख गरिरहेकी छन् । नरेशकी आमा बुहारीको सुत्केरी स्याहार्न गएको बखत पनि नरेशले ममतालाई हिंसा गरेर घरबाट निकालेका थिए । देउता छोएर कसम खाँदै आइन्दा त्यस्तो नगर्ने शर्त गरेपछि मात्रै ममता फर्किएकी थिइन् । नरेशले आमालाई नेपाल फर्काएर, आफूले चढेको गाडीसमेत बिक्री गरिसकेका थिए । योजनाबद्ध रूपमा घर बिक्रीका लागि केही नेपाली समुदायका व्यक्तिलाई भनिसकेका थिए । ममताको हत्यासँगै उनले भारत जाने तयारी गरेको खुलासा भएको छ । छोरी ममतालाई ज्वाइँ नरेश भट्टले मारेको आमा गीताकुमारी काफ्लेले बताइन् । 

– मोतिराम तिमल्सिना

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू