करणी काण्ड त कति हुन् कति !

करणी काण्ड त कति हुन् कति !
सुन्नुहोस्

निकै रुचाइएर भित्र्याइएकी थिइन् सिर्जना भण्डारी । आमालाई बाउले गरेको हेलाँ होचो र कान्छी श्रीमती च्यापेर दिएको पीडा भोग्न नपरोस् भनेर निकै प्रेमले राखिएकी उनै श्रीमतीले करणीको मुद्दा हाल्लिन् भनेर कुन लोग्नेले कल्पना गर्ला र बेंसीशहर –७ का विष्णुबहादुर बस्नेत अपवाद बनुन् । २०७३ सालमा वैवाहिक लगनगाँठो कसिएलगत्तै डिभी परेर अमेरिका पुगेका बस्नेत लमजुङको सदरमुकाम बेसीशहरमै घर किनेर श्रीमती र आमालाई राखेका थिए । 

२०७५ सालमा आएका उनले पुनः अमेरिका फर्कने बेला काठमाडौँकी एक युवतीलाई श्रीमती बनाए । जे गरे श्रीमतीसँग राय लिएरै गरे । अमेरिका पुर्‍याइएकी युवतीसँग पारपाचुके गरेर त्यसको प्रतिलिपिसमेत सिर्जनालाई पठाए । तर त्यहीँबाट दाम्पत्य जीवनमा खटपटको मुना पलायो । लोग्नेलाई करणी उद्योग र सासूलाई अंश मुद्दामा पारिन् सिर्जनाले । बेसीशहरमा एउटा घर, चितवनमा ८÷१० धुर जग्गा र गाउँको पाखोबारी । यही १६ गते आइतबार जिल्ला अदालतको मेलमिलाप केन्द्रमा भएको छलफलमा उनले ४ करोड मागेपछि सहमति हुन सकेन ।

बेला जिल्ला प्रहरी कार्यालय लमजुङमा फेरि अर्को वैवाहिक बलात्कार मुद्दा दर्ता भएको छ । उमेरको कारण कानुनी रूपमा विवाह दर्ता नभए पनि प्रेम सम्बन्धलाई ६ महिनाअघि मात्रै विवाहमा परिणत गरेका थिए मध्यनेपाल –६ भोर्लेटारका प्रदिप दर्जी र रचना न्यौपानेले । दानबहादुर न्यौपाने क्षेत्रीकी १८ वर्षे छोरी रचना र राजेन्द्र दर्जीका छोरा प्रदिप स्कूल पढ्दादेखि अहिले सँगै एसईई दिएका । नियमिततर्फ दुवै जना फेल भएपछि यही असारमा पुरक परीक्षा दिएर बसेका उनीहरूको उमेर नपुगेकाले वडामा बिहे दर्ता नभए पनि श्रीमान् श्रीमती बनेर ६ महिनादेखि प्रदिपकै घरमा बसेकी रचना गर्भवती बनिन् ।

छोरी रचना दलित केटासँग गएको चाल पाएपछि वैदेशिक रोजगारका लागि अफ्रिकामा भएका दानबहादुरले फोन गरी अब तँ हाम्रो लागि मरिस् भन्दै धम्क्याए । पटक–पटक केटीलाई छुटाएर लगे पनि । तर, रचना केटाकै घरमा आउन छाडिनन् ।साउन २८ गते रचना र प्रदिपबीच सामान्य भनाभन चल्यो । प्रदिपको मुख चल्यो रचनाको हात । पीडक भनिएका प्रदिपका अनुसार रचनाले भित्तामा टाउको ठोकाइदिइन् । अल्लारे उमेरका प्रदिपले पनि प्याट्ट हात छाडे । यही निहुँमा रचना भाद्र २ गते घर छाडेर काठमाडौँतिर लागिन् जहाँ उनलाई जन्म दिने आमा थिइनँ । रचनाकी आमाले पनि उनलाई सानैमा छाडेर दोश्रो बिबाह गरेकी हुन् । रचनाले यो कुरामा अफ्रिकामा रहेका बाउलाई जानकारी गराएकी थिइन् भने दानबहादुरले सो कुरा कान्छी श्रीमती शान्तिदेवी भण्डारीलाई जानकारी गराई प्रहरीमा खोजी गरिपाउन उजुरी हाल्न लगाएका थिए ।

कुरा यत्ति हो । तर, रचनाकी कान्छी आमाले यही १२ गते रचनालाई काठमाडौंबाट ल्याएर जबर्जस्ती करणीको मुद्दा हालिन् । उनका अनुसार, प्रतिवादीले आफ्नै घरमा अन्तिम पटक मिति २०८१÷०४÷२८ गते समय अं २२–०० बजे करणी गरेका थिए । उजुरीपछि पक्राउ परेका प्रदिपविरुद्ध जिल्ला अदालतले गएको आइतबार हिरासतमा राखी अनुसन्धान गर्न एक हप्ताको म्याद दिएको छ । मध्यनेपाल नगरपालिका –६ का वडा अध्यक्ष विष्णु पौडेल केटो सरासर अन्यायमा परेको दावी गर्छन् । केटो १९ वर्षको केटी १८ वर्षको राजीखुशी विवाह नै गरेका तर जातकै कारण यो विवाद र लाञ्छना लगाइएको बताउँछन् । यसरी जबर्जस्ती करणीको आरोपमा दलित युवालाई सडाउने कार्य भए आन्दोलनमा उत्रनुपर्ने परियार समाज लमजुङका अध्यक्ष गोपाल परियार बताउँछन् ।

– अञ्जनकुमार 

 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू