बेथितिको कारक प्रधानमन्त्री रहेको माओवादी ठहर
चौथो वरीयताका सचिवलाई मुख्य सचिवमा बढुवा गरिएकोप्रति संसदमा कुरा उठाइएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले वरीयता मिचेर मुख्य सचिव नियुक्ति गर्दा सचिवहरु आतंकित भएको जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले प्रश्न उठाएका हुन् । पूर्वमन्त्रीसमेत रहेका उनले अन्य नियुक्तिमा पनि सरकारले मनलाग्दी गरेको उनको आरोप छ ।
‘सरकारले गर्नुपर्ने मुख्य कुराहरु के हुन् ? थिति बसाल्ने कुरा हो । कानूनको कार्यान्वयन गर्ने कुरा हो । तर, मुख्य सचिव बनाउँदाखेरी बरियताक्रम मिच्ने काम गर्यो । जसको कारणले गर्दा अरु सचिवहरुले आतंकित हुनुपर्ने, राजीनामा दिनुपर्ने खालका कुराहरु आए’, आज प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद तामाङले भने ।
यसलाई प्रधानमन्त्रीको तहबाट निरंकुशता लादिएको अर्थ लगाएका उनले यस्तै निर्णयका कारण मुलुकमा सबैतिर बेथिति र अराजकता बढेको बताए । सरकारले खेलकुद विभागमा समेत वरीयता मिचेर नियुक्ति गरेका कारण खेलाडीहरुले राजीनामा दिएको सन्दर्भ सांसद तामाङले उल्लेख गरे ।
‘हिजो मात्रै खेलकुद परिषद्अन्तर्गत खेलकुद विभागमा वरियताक्रम मिचेर नियुक्ति गरेको कारणले वरिष्ठ खेलाडी, ओलम्पियन संगीता वैद्यले राजीनामा दिएको कुरा बाहिर आइरहेका छन्’, उनले भने, ‘मुलुकमा सबैतिर बेथिति नै बेथिति छ । अराजकता नै अराजकता छ । प्रधानमन्त्रीको तहबाट निरंकुशता लाद्ने खालका निर्णयहरु भइराखेका छन् । यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
जनताको अधिकारलाई कुण्ठित गरेर ०४७ सालको संविधानतिर अग्रसर हुनेगरी संविधान संशोधन गर्न माओवादी केन्द्रले नदिने उनको चेतावनी छ । कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली राख्नेगरी संशोधन हुने अवस्थामा आफूहरु तयार रहेको उनले स्पष्ट पारे ।
टिप्पणीहरू