पार्टीभित्रै नेतृत्वको बद्ख्वाईं गरेपछि माधव नेपालको चेतावनी

पार्टीभित्रै नेतृत्वको बद्ख्वाईं गरेपछि माधव नेपालको चेतावनी
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने नेतामाथि कारबाही हुनसक्ने संकेत गर्नुभएको छ । पार्टीको बद्ख्वाईँ गर्नेलाई छुट दिन नसकिने उहाँले प्रष्ट पार्नुभयो । 

हालै उपाध्यक्षमा पराजित रामकुमारी झाँक्रीलगायत केही नेताहरु एमाले प्रवेशको तयारीमा रहेको चर्चा चलिरहँदा अध्यक्ष माधवको यस्तो प्रतिक्रिया आएको हो । एमाले विभाजनमा मुख्य भूमिका खेलेकी झाँक्री पछिल्लो समय प्रधानमन्त्री तथा उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसकको रुपमा प्रस्तुत भएपछि समाजवादीभित्र विभिन्न आशंका गरिएको छ ।

त्यसप्रति संकेत गर्दै माधवले भन्नुभयो, ‘सार्वजनिक रुपमा पार्टीको बद्ख्वाईँ गर्ने मान्छेलाई पार्टीमा बस्ने नैतिक अधिकार छ ?’ तर पार्टीमा असन्तुष्ट नेताहरुलाई फकाइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

पदाधिकारी निर्वाचनमा अध्यक्षकै तर्फबाट चिट बाँडिएको भन्ने झाँक्रीहरुको आरोपको पनि उहाँले खण्डन गर्नुभयो । व्यक्ति विशेषलाई जिताउन वा हराउन आफूले भूमिका नखेलेको उहाँको प्रस्टोक्ति छ । पार्टी अध्यक्षको रुपमा आफू सबैको साझा व्यक्ति भएको उल्लेख गर्दै उहाँले निर्वाचनमा कुनै हस्तक्षेप नगरेको बताउनुभयो । 

‘त्यस्तो कसैले पनि आरोप लगाएका छैनन् । किनकि थाहा छ कि अध्यक्ष सबैप्रति साझा हुनुहुन्छ । चिटको काममा मैले रोक नै लगाएको हो । मलाई थाहा पनि भएन । थाहा भएको होइन । कसैले अध्यक्षलाई दोष लगाउलान् । कसैले महासचिवलाई दोष लगाउलान् । कसैले अर्को नेतालाई दोष लगाउलान् । आ–आफू जित्न आ–आफ्नो ढंगले चलेका होलान् । म यस्ता कुराको विपक्षमा छु । मेरो लागि सबै बराबर हुन् । साझा हुन्’, उहाँले भन्नुभयो ।

पदाधिकारीमा सहमति जुटाउन नसकेपछि विधान संशोधन गरेर उक्त व्यवस्था नै हटाउने प्रस्ताव आफूले राखेको तर सबैले निर्वाचनको माग गरेपछि सम्भव नभएको माधवको भनाई छ ।

 

टिप्पणीहरू