रावल चौखुट्टे झुलुक्क, अध्यक्ष बोहोरा साँफेबाट मंगलसैन सुटुक्क !

रावल चौखुट्टे झुलुक्क, अध्यक्ष बोहोरा साँफेबाट मंगलसैन सुटुक्क !
सुन्नुहोस्

-रमेश रावत 

नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावल गृह जिल्ला अछाम पुगेका छन् । उनलाई आज अपरान्ह साफेबगरमा एमालेका स्थानीय नेताहरुले स्वागत गरेका हुन् । 

विभिन्न सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन अछाम पुगेका रावलको पछिल्लो जिल्ला भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले जिल्लामा यसबीचमा आफू निकट नेता तथा कार्यकर्तासँग आगामी रणनीतिबारे छलफल गर्ने अनुमान छ । 

नेता रावलको गृह जिल्ला भ्रमणले एमाले वृत्तमा हलचल ल्याएको बताइन्छ । रावल पक्षधरहरु उनको जिल्ला आगमनमा निकै खुशी देखिएका छन् भने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरहरु रावलको नजिक परिने डरले अन्यत्र गएको बुझिएको छ । उनीहरु अध्यक्ष ओलीको तारो बनेका रावललाई भेट्दा उहाँसँग दूरी बढ्ने एमाले जिल्ला नेतामा डर छ । उनीहरु केन्द्रको मूल्यांकनमा पछाडि परिने डरले लाखापाखा लागेको स्रोतको दाबी छ । 

रावल पुग्दा साफेबगरमै रहेका एमाले जिल्ला अध्यक्ष चन्द्र बोहरा तत्काल मङ्गलसैन हानिएका छन् । आज दिनभर साफेबगरमा रहेका बोहरा नेता रावल चौखुट्टे पुगेको खबर सुन्नेपछि झटपट मङ्गलसैन हिँडेको उनी निकटस्थहरुले बताए । बोहोरासँगै एमाले नेता तथा मङ्गलसैन नगरपालिकाका नगर प्रमुख पदम बोहरापनी दिनभर साफेबगर बसेर रावल नपुग्दै मङ्गलसैन हानिएका थिए । 

पार्टी अध्यक्ष बोहरा ओली पक्षधर हुन् । नेकपा विभाजनअघि रावलको पक्षमा रहेका बोहरा पछि ओली पक्षबाट जिल्ला अध्यक्ष बनेका छन् । नेता रावल एमाले उपाध्यक्ष हुँदा उनको जिल्ला भ्रमणमा स्वागत गर्न चौखुट्टे पुगेका त्यो बेलामा नेताहरु यस पटक रावल चौखुट्टे पुग्दा साफेबगरबाटै कुलेलम ठोकेका हुन् ।

यसबारे अध्यक्ष बोहराले रावल अछाम आउने कार्यक्रमबारे पार्टीलाई जानकारी नभएको बताए । उनको जिल्ला भ्रमणमा एमालेले कुनैपनि कार्यक्रम आयोजना नगर्ने उल्लेख गरे । 

यता नेता रावलले साँफेबगर पुगेपछि त्यहाँ उपलब्ध कार्यकर्ताहरुलाई संक्षिप्त सम्बोधन गरेका छन् । उनले राष्ट्रिय हितका निम्ति आफ्नो लडाईं जारी रहेको बताए । भोलि बिहान गैरसरकारी संस्था वाक नेपालको २७ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्ने कार्यतालिका छ । 

दिउँसो मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडालाई स्थानीय बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने बताइएको छ । नेकपा एमालेको चितवन महाधिवेशनमा अध्यक्ष ओलीसँग अध्यक्ष पदका प्रत्याशी बनेका रावल हाल पार्टीमा भूमिकाविहीन छन् । 

रावललाई पार्टीभित्र उचित स्थान दिनुपर्ने माग उठेपनि पार्टी नेतृत्वले बेवास्ता गर्दै आएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र रावलको आगामी तयारीका विषयमा धारण बुझ्न प्रेस चौतारी अछामले भोलि बिहान साँफेबगरमा पत्रकार भेटघाट कार्यक्रमसमेत आयोजना गरिएको चौतारी अछामका अध्यक्ष टेकबहादुर थापाले बताए ।

टिप्पणीहरू