संसद भवनको आडैमा अनशन बस्ने माननीयको घोषणा
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की आमरण अनशन बस्ने भएका छन् ।
पत्रकार सम्मेलन गरेर उनले आज अपराह्न ४ बजेदेखि प्रदेश सभा भवन छेउमा अनशन बस्ने घोषणा गरेका हुन् । नेपाली कांग्रेसका प्रदेश सांसदसमेत रहेका कार्कीले अस्ति आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न ९ बुँदे माग राख्दै ४८ घण्टे अल्टिमेटम दिएका थिए । तर सरकारले माग सम्बोधन गर्ने कुनै छाँट नदेखाएपछि अनशन बस्न बाध्य हुनुपरेको कार्कीको भनाई छ ।
‘मैले अस्ति नै मेरा मागहरु राखेर २ दिनको समय दिएको थिए’, उनले जनआस्थासँग भने, ‘तर सरकारले त्यसलाई सम्बोधन गर्ने छाँटकाँट नै देखाएको छैन, संसदमा पनि मेरा प्रश्नहरुलाई नजरअन्दाज गरियो, अब अनशनबाहेक अर्को विकल्प छैन ।’
सांसद कार्कीले दश वर्षमुनिका बालबालिकाका लागि विशिष्टिकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालनमा ल्याउनुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत राख्नुपर्नेजस्ता माग राखेका छन् ।
त्यस्तै सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने पनि उनको माग छ ।
टिप्पणीहरू