उपसभामुख हटाउने सत्तापक्षको तयारी, रास्वपाले बोलायो आकस्मिक बैठक
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको आकस्मिक बैठक बस्न लागेको छ ।
सत्तारुढ गठबन्धनले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेको चर्चासँगै रास्वपाले दलको बैठक बोलाएको हो । बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको सो पार्टीका सांसद गणेश पराजुलीले जानकारी दिए ।
हिजो साँझ बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाको आचरणमाथि गम्भीर प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव गरेको बताइएको छ । रास्वपाबाट उपसभामुख बनेकी रानामाथि पाँच जनालाई अमेरिका पुर्याउन पदको दुरुपयोग गरेर अमेरिकी दूतावासलाई पत्र लेखेको आरोप छ ।
सोही आरोपमा उपसभामुखबाट उनलाई हटाउने प्रस्ताव लैजाने सत्तापक्षले तयारी गरेको खबर बाहिरिएसँगै रास्वपामा तरंग पैदा भएको छ । 'मलाई भर्खर बानेश्वर आउनुस् भनेर मेसेज आयो, म सिंहदरबारबाट निस्किएर त्यतै जादैछु', सांसद पराजुलीले भने, 'उपसभामुखको विषयमा जे सूचना आयो, त्यही विषयमा छलफल गर्न हो कि !'
संवैधानिक परिषद्मारा सत्तापक्षलाई सहज बनाउने प्रधानमन्त्रीको दल एमालेको रणनीतिअन्तर्गत रानालाई उपसभामुखबाट हटाउन लागिएको रास्वपा स्रोतको दाबी छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।
अहिले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र उपसभामुख राना सत्ता गठबन्धनको विपक्षमा छन् । जसका कारण प्रधानमन्त्रीलाई निर्णय गर्न असहज हुने देखिएपछि एमालेले उपसभामुख रानालाई हटाउने रणनीति बनाएको बताइन्छ ।
टिप्पणीहरू