उपसभामुख हटाउने तहमा छलफल नभएको सत्तापक्षको प्रश्टोक्ति

उपसभामुख हटाउने तहमा छलफल नभएको सत्तापक्षको प्रश्टोक्ति
सुन्नुहोस्

सरकारले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको खबर सार्वजनिक भएसँगै राष्ट्रिय राजनीतिमा तरंग पैदा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ बसेको सत्ता गठबन्धनको बैठकमा उपसभामुख हटाउने प्रस्ताव राखेको र त्यसबारे सत्तापक्षका नेताहरु छलफलमा जुटेको चर्चा छ । 

खासमा हिजाेकाे बैठकमा ठोस छलफल के भएको हो ? चासोको विषय बनेको छ । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौताले हिजोको बैठकमा उपसभामुख रानालाई हटाउने ठोस निर्णय नभएको बताए । 

मार्गप्रशस्त गर्न आग्रह गर्ने सम्बन्धमा सामान्य छलफल भएको उनले जानकारी दिए । ‘बैठकमा तपाई पनि सहभागी हुनुहुन्थ्यो, के छलफल भएको हो ?’ भन्ने जनआस्थाको प्रश्नमा उनले भने, ‘बिहानैबाट मिडियामा जुन महाभियोग लगाउने कुरा आयो, त्यो विषयमा ठोस  निर्णय भएको छैन ।'

उनले अगाडि भने, 'हिजो भएको के हो भने, उपसभामुखको विषयले संसदमा प्रवेश गरिसकेको छ । उहाँ अमेरिका भ्रमणमा जानु स्वभाविक हो । उहाँको भम्रण मन्त्रिपरिषद्बाट पनि स्वीकृत भइसकेको अवस्था थियो । तर त्यो मौका छोपेर उपसभामुखज्यूले जुन अन्य व्यक्तिहरुलाई पनि अमेरिका लैजान, भिसा दिलाउन भन्दै संसदको लेटर हेड प्रयोग गरेर दूतावासलाई पत्र लेख्नुभयो, त्यो गैरसंसदीय, नैतिकहिन र आचारसंहितविपरितको गम्भीर गल्ती हो । सडकदेखि सदनसम्म उहाँको विषय उठेपछि यो विषयको निराकण हुनुपर्छ भन्ने बारेमा हिजो छलफल भएको हो ।'

त्यससम्बन्धमा उपसभामुखज्यूलाई आफैँ मार्गप्रशस्त गर्न आग्रह गर्ने सल्लाह भएको उनले बताए । तर, महाअभियोग नै लगाइहाल्ने निर्णय नभएको बर्तौलाले प्रष्ट्याए । 

'अब मिडियाका साथीहरुले यति आक्रमक रुपमा कुरा बाहिर ल्याएपछि आजको सभामा यो विषयले फेरि स्थान पाउँछ', उनले भने, 'यसमा सरकार कसरी अघि बढ्छ, भरे-भोलीसम्म थाहा भैहाल्छ ।’

 

टिप्पणीहरू