उपसभामुख हटाउने कुराले संसदमा कित्ताकाट
उपसभामुख इन्दिरा रानालाई महाभियोग लगाएर हटाउने तयारी थालिएको भन्दै प्रतिपक्षहरुले सदनमा आपत्ति जनाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष माओवादी केन्द्र र रास्वपाका सांसदले उपसभामुख हटाउने विषय आफूहरुलाई स्वीकार्य नहुने स्पष्ट पारे ।
बैठकको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद सन्तोष परियारले संख्याको बलमा उपसभामुख हटाइए सडकबाट प्रतिरोध गरिने चेतावनी दिए । लोकतन्त्र ल्याउन लडेकाहरुले नै 'लोकतन्त्रलाई ज्युँदै मार्ने' प्रयास गरेको भन्दै उनले चर्को आक्रोश व्यक्त गरे ।
संवैधानिक परिषद्लाई आफ्नो अनुकूल बनाउन अलोकतान्त्रिक तवरले उसभामुखलाई हटाउन खोजिएको दाबी गर्दै परियारले भने, 'आज सम्मानित पदलाई एउटा परिषद्मा आफ्नो बहुमत पुग्दैन भन्ने नाउमा लोकतन्त्रको लागि लडेका आफूलाई मसिहिया भन्ने पार्टीहरुले गुपचुपमा बसेर उपसभामुखमाथि महाअभियोग लगाउने प्रयास गर्दैछन् । लोकतन्त्रलाई ज्युँदै मार्ने प्रयास गरिन्छ भने लेखेर राख्नुस्, एक दिन तपाईहरुले खनेको खाल्डोमा आफैँ पर्नुहुनेछ ।’
संख्याको दम्भमा सत्ता पक्षले अलोकतान्त्रिक कदम चाले सडकमा उत्रिन बाध्य हुने उनले चेतावनीसमेत दिएका छन् । ‘यदि सल्लाह गरेर गुपचुपमा लोकतन्त्रलाई मारिन्छ भने, तमाम जनताहरु सडकमा ओर्लनेछन् र राजनीतिक पार्टीहरुविरुद्ध आन्दोलन गर्नेछन्’, सांसद परियारले भने ।
प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि उपसभामुखलाई हटाउने प्रस्ताव आए आफ्नो दलले स्वीकार नगर्ने बताए ।
सत्तापक्षीय नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले भने उपसभामुख रानामाथि मानव बेचविखनको आरोप लागेकाले छानविन हुनुपर्ने माग गरेकी छन् । छानविनमा सघाउनुको सट्टा रास्वपाका नेताले आक्रोश पोखेकोप्रति उनले कटाक्ष गर्दै भनिन्, ‘उहाँहरु अरुको कुरा जोडदार उठाउनुहुन्छ, अनि उहाँहरुमाथि कुरा उठाउदा चाहीँ आक्रोश किन ? यसको कुनै तुक छैन !’
टिप्पणीहरू