डिभोर्स गरेकी श्रीमतीको जिम्मा लिन नसक्ने पूर्वमन्त्रीको प्रश्टोक्ति
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगीमा आफ्नो संलग्नता पूर्णत: अस्वीकार गरेका छन् ।
ललितपुरस्थित मितेरी सहकारी संस्थाको १५ करोड रकम हिनामिनामा नाम जोडिएपछि आज संसद बैठकमा स्पष्टीकरण दिँदै उनले त्यसको खण्डन गरेका हुन् । उपसभापति गुरुङले पूर्वपत्नीले गरेको बदमासीको जिम्मा आफूले नलिनेसमेत बताए ।
सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पूर्वमन्त्रीसमेत रहेका धनराज र उनकी पत्नी ज्योतीले पैसा फिर्ता गर्ने सहमति गरे पनि अहिलेसम्म फिर्ता नगरेको भन्दै संसदीय विशेष समितिमा बयान दिएका थिए । सहकारीको प्रवन्ध निर्देशक रहेकी ज्योती र धनराजको सम्बन्ध बिच्छेद भैसकेको बताइएको छ ।
यसबारे सार्वजनिक प्रश्न उठेपछि संसदमा जवाफ दिन उभिएका धनराजले डिभोर्सपछि पूर्वश्रीमतिको बारेमा कुनै जानकारी नभएको बताएका हुन् ।
‘कुनै पनि व्यापारमा श्रीमान-श्रीमतीमध्ये एकजना जोडिंदा अर्कोलाई पनि मुछेर हेर्ने र बुझ्ने हाम्रो प्रचलन छ, त्यसकारण मलाई पनि जोड्न खोज्नु अनौठो होइन’, उनले भने, ‘तर, भूतपूर्व श्रीमान वा श्रीमतीलाई त्यसरी जोड्न व्यवहारिक, कानुनी र नैतिक दृष्टिकोणले मिल्दैन । विवाह गर्नु के अपराध हो ? मिल्न नसकेपछि डिभोर्स गर्नु अपराध हो ?’
उनले श्रीमतीसँग सम्बन्ध बिग्रदै गएपछि ०७६ साल फागुनमा डिभोर्स गरेको जानकारी गराए । कतिपयले डिभोर्सलाई समेत नक्कली भनेपछि उनले चुनौती दिँदै भने, ‘एक जना मान्यले हिजो हाम्रो डिभोर्सलाई नक्कली भन्नुभएको रहेछ, हुन त जसले नक्कली गर्छ, उसले नक्कली देख्नु स्वभाविक नै हो । म उहाँलाई नक्कली डिभोर्स प्रमाणित गर्न चुनौती दिन चाहन्छु ।’
उपसभापति गुरुङले परिवारमा दरार आएपछि १० वर्षको बच्चा हुर्काउन पर्दाको पीडा पनि संसदमा पोखे । आफूमाथि लागेको आरोपमाथि छानविन गर्न आग्रह गर्दै भने, ‘डिभोर्सपछि मलाई पूर्वश्रीमतीको विषयमा जानकारी हुने कुरा भएन । ममाथि संसदीय छानविन गर्नुपर्छ भने पनि म तयार छु । म निष्ठा र नैतिकताको राजनीतमा विश्वास गर्छु । ममाथि लागेको आरोपमाथि सत्य तथ्य छानविन गर्न गृहमन्त्रीलाई आग्रह गर्दछु ।’
टिप्पणीहरू