उपसभामुखलाई गोकुलको सुझाव, देवेन्द्रको ढाडस

उपसभामुखलाई गोकुलको सुझाव, देवेन्द्रको ढाडस
सुन्नुहोस्

सत्तारुढ नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले आरोप बोकेर व्यक्तिगत रुपमा निरन्तर पीडित हुनुभन्दा पद त्यागेर पारदर्शिता प्रर्दशन गर्न सुझाएका हुन् । 

‘उपसभामुखलाई मेरो सामान्य सुझाव छ, संसदमा पटक–पटक प्रश्न उठेपछि जवाफ दिनुपर्छ, ममाथि पनि प्रश्न उठेपछि मैले पदबाट राजीनामा गरेको थिएँ’, बाँस्कोटाले भने, ‘यत्रो प्रश्न उठेको छ भने उहाँले आफ्नो पदबाट राजीनामा दिएर मार्गप्रशस्त गरे के बिग्रन्छ ?’

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले भने त्यसमा आपत्ति जनाएका छन् । प्रश्न उठ्दैमा राजीनामा दिनुपर्ने भए बहालवाला मन्त्रीहरुले पनि राजीनामा दिनुपर्ने उनको तर्क छ । 

‘प्रश्न उठेर राजीनामा दिने हो भने दशौँ मन्त्रीको कुरा उठ्या छ । राजीनामा दिन तयार हुनुहुन्छ ?’, उनले सोधे, ‘वाइडबडीमा प्रश्न उठ्यो, भुटानी शरणार्थीमा प्रश्न उठ्यो, बालुवाटार जग्गा प्रकरणमा प्रश्न उठ्यो, गिरिबन्धुको जग्गा प्रकरणमा प्रश्न उठ्यो, तपाईंहरु राजीनामा दिन तयार हुनुहुन्छ ?’

शक्तिको दुरुपयोग गरेर लोकतन्त्रलाई खतरामा पारिए नतिजा राम्रो नहुने चेतावनी दिँदै सांसद पौडेलले अगाडि भने, ‘एक जना उपसभामुखलाई चारैतिरबाट शक्तिको प्रयोग गरेर हटाउने प्रवृतिले लोकतन्त्र अघि बढ्न सक्दैन, हामी यसमा खबरदारी गर्न चाहन्छौ ।’

टिप्पणीहरू