यी हुन् क्याबिनेट बैठकका १० निर्णय

यी हुन् क्याबिनेट बैठकका १० निर्णय
सुन्नुहोस्

सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ । हिजो बसेको क्याबिनेट बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५÷१५ गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ । 

बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने पनि निर्णय गरेको छ । यस्तै, आर्थिक वर्ष २०८१÷०८२ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा १५ र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिमा चार राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । 

अर्थ मन्त्रालय र मातहत कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत प्रदान गर्ने तथा नेपाल विद्युत प्राधिकरण र एसजेभिएन लिमिटेडबीच संयुक्त उपक्रममार्फत अरुण–४ जलविद्युत आयोजनाको विकासका लागि हस्ताक्षर भएको समझदारीपत्रको म्याद एक वर्ष थप गर्ने पनि क्याबिनेट निर्णय छ । 

बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वीकृत गरी युएनसीआरपीडी समितिमा पेश गर्ने निर्णयसमेत गरेको छ । साथै, विभिन्न तीन वटा भ्रमण स्वीकृत गरिएको छ । असोज २१ गते थाइल्याण्डमा आयोजना हुने एक बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठलाई स्वीकृति प्रदान गरेको छ । 

असोज ८ गतेदेखि १० गतेसम्म इण्डोनेसियामा आयोजना हुने पाचौं मन्त्रिस्तरीय बैठकमा सहभागीका लागि वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृत दिइएको छ । आजदेखि भदौ २८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुन गइरहेको एक कार्यक्रममा उपस्थितिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति प्रदान गरिएको छ । 

काँग्रेस नेतृ चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदूतमा सिफारिस गरेको छ । उनलाई फिजी, न्यूजिल्याण्ड, पपुआ न्यु गिनी, भानुआटु, टुभालु, सोलोमन आइल्याण्ड्स, सामोआ, पलाउ, नाउरु, मार्शल आइल्याण्ड्स र टोङ्गा अधिराज्यको गैरआवासीय राजदूत पदमा चार वर्षका लागि नियुक्ति गर्न सिफारिस गरेको हो ।

टिप्पणीहरू