उपसभामुख रानालाई पद छोड्न कांग्रेसको आग्रह, धनराजमाथि छानविन गर्न तयार

उपसभामुख रानालाई पद छोड्न कांग्रेसको आग्रह, धनराजमाथि छानविन गर्न तयार
सुन्नुहोस्

सत्तारुढ नेपाली काँग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन सुझाव दिएको छ ।आज बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले रानामाथि गम्भीर प्रश्न उठेकाले आफैँले मार्गप्रशस्त गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको हो ।

प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले सत्तारुढ दलको बैठक बसेर यसबारे साझा धारणा बनाउने निर्णय भएको पनि जानकारी दिए। उपसभामुखले असम्बन्धित व्यक्तिहरुलाई आफूसँगै कार्यक्रममा लैजान अर्को देशको दूतावासलाई पत्र लेख्नु संसदीय व्यवहार नभएको बैठकको निस्कर्ष उनले सुनाए । उपसभामुख रानाको यस्तो कार्यले संसदलाई अपमानित गरेको र मुलुकको शीर झुकाएको घिमिरेए बताए।

'उपसभामुखको विषयमा धेरै कुराहरु आएको छ, उठेको छ । त्यो विषयलाई पनि कसरी निराकरण गर्ने भन्नेबारेमा केन्द्रित भएर नै छलफल अघि बढ्यो', बैठकबारे जानकारी दिँदै उनले भने, 'कसरी जाने भन्नेकुरा संसदीय दलको बैठक बसेर हामी पार्टीको निर्णय लिन्छौँ । सत्तारुढ दलहरुसँग छलफल गरेर साझा धारणा बनाउँछौँ । उहाँले आफैँले राजीनामा दिनुपर्छ । उहाँमाथि गम्भीर प्रश्न उठेको हो । यो चानचुने प्रश्न होइन ।'

प्रमुख सचेतक घिमिरेले उपसभापति धनराज गुरुङको विषयमा छानविनबाट दोषी ठहर भए कारबाही भोग्ने र त्यसको छानविन गराउन काँग्रेस तयार रहेको पनि उल्लेख गरे ।

टिप्पणीहरू