उपसभामुख हटाउने विषयमा सत्ता गठबन्धनमै फरक मत
उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि नेपाली कांग्रेस र एमालेले संसदमा प्रस्ताव दर्ता गर्ने तयारी गरिरहँदा सत्ता गठबन्धनमै फरक मत देखिएको छ । सत्तारुढ जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले संख्याको बलमा गलत नियतका साथ उपसभामुखलाई हटाउन लगिएको भन्दै असन्तुष्टि जनाए ।
संवैधानिक परिषद्मा बहुमत पुर्याउनका लागि उपसभामुख रानालाई हटाउन लागेको राउतको दावी छ । परिषद्मा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त गर्न नसकिने भएकाले यस्तो रवैया अपनाउन खोजिएको उनले बताए ।
‘एकदम गलत नियतका साथ भइरहेको छ । संवैधानिक परिषद्मा बहुमत पुर्याउनको लागि भइरहेको छ । आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भयो भनेर हटाउनका लागि यो भइरहेको छ', राउतले भने, 'जुन गलत नियतका साथ हुन्छ, त्यो पक्कै पनि गलत नै हुन्छ । यसो नर्गदिए अलिकति लोकतन्त्रको मान मर्यादा रहन्थ्यो कि जस्तो हामीलाई लाग्छ ।'
राउतले सरकारको कार्यशालीमाथि पनि प्रश्न उठाएका छन् । गठबन्धनका अन्य दलसँग सरसल्लाह नगरी कांग्रेस र एमालेले एकलौटी गरेको उनको आरोप छ ।
'सरकारको बारेमा हामीलाई खासै जानकारी पनि हुन सकेको छैन । हिजो अस्ति सत्ता गठबन्धनको बैठक बस्यो भनेर मैले पनि पढेँ । कता के भइरहेको छ, अहिलेसम्म न्यूनतम साझा कार्यक्रम पनि बनेको अवस्था छैन । न त कसैसँग छलफल हुन्छ । न त सरकारको भिजिबिलिटी कतै देखेको छु मैले', राउतले भने ।
कांग्रेस र एमाले साना पार्टीलाई सखाप पार्ने रणनीतिमा रहेको उल्लेख गर्दै उनले देशमा सरकार भएको महशुस गर्न नसकेको बताए ।
'सरकार भएको जस्तो महशुस देख्दिनँ । उल्टै के देखिन्छ भन्दाखेरी साना पार्टीहरुलाई अरु पार्टीहरुले कसरी सखाप पार्ने ? केही सिमित नेताहरुलाई मात्रै कसरी प्रतिशोध साँध्ने', राउतले भने, 'त्यसमा प्रतिनिधि सभा पनि केन्द्रीत भएको र सरकार पनि केन्द्रीत भएको मैले देखेको छु ।’
उपसभामुख रानाले अघिल्लो वर्ष अमेरिकाको एक कार्यक्रममा सहभागी हुन केही गैरसंसदीय व्यक्तिलाई भीसा दिलाउन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । त्यहि विषयलाई लिएर कांग्रेस र एमालेले उनलाई हटाउन लागेका हुन् ।
टिप्पणीहरू