उपसभामुख हटाउने कदम चाले रास्वपाले प्रतिकार गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने चेतावनी दिएको छ ।
संसदसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै सत्तारुढ गठवन्धनका दलहरुले उपसभामुखको राजीनामा माग गरेपछि रास्वपाले प्रतिवाद गर्ने बताएको हो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखको कदम गलत भएपनि स्पष्टिकरणको मौका दिनुपर्ने बताए ।
‘उहाँहरुले कस्तो कदम लिनुहुन्छ, त्यसअनुसार छलफल गर्ने छौँ । अहिले ‘पर्ख र हेर’ को अवस्थामा छौँ,’ उनले भने, ‘तर, आएको परिस्थितिलाई कसरी सामना गर्ने, त्यसलाई कसरी प्रतिकार गर्ने र कसरी त्यसमा हामीले कार्य गर्ने भन्ने कुरामा पूर्ण तयारी र सरोकार छ ।’
उनले डेढ वर्षअघिको पत्रलाई अहिले राजनीतिक दाउपेचका लागि प्रयोग गर्न लागिएको दाबीसमेत गरेका छन् । ‘१८-१९ महिना पहिला एउटा पत्रमा उहाँको हस्ताक्षर देखियो, जुन पत्र सम्बन्धित मन्त्रालयमा दर्ता पनि भएको छैन । त्यो पत्र भिसाको लागि थिएन । अन्तर्वाताको लागि अनुरोध पत्र थियो । तर, त्यसलाई १८ महिनासम्म दबाएर, लुकाएर राखियो । अनि आज कुनै राजनीतिक दाउपेचमा प्रयोग गर्न खोजिदैँछ’, झाले भने ।
नयाँ गठबन्धन बनेपछि यस प्रकरणलाई विवादमा ल्याइएको भन्दै उनले कानूनी प्रक्रियामा जान माग गरेका छन् । ‘यदि यो नराम्रो नै हो भने कानूनी प्रक्रिया छ नि । छानबिन गर्न सकिन्छ । उहाँलाई स्पष्टीकरण दिने मौका दिनुपर्छ,’ उनले भने ।
टिप्पणीहरू