सुवासकाे नाममा प्रतिष्ठान खाेल्नुअघि च्यासलमा माधवकाे खाेइराे
प्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पूर्वसभामुख तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान स्थापना गर्ने घोषण गर्नुभएको छ ।
आज च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित सुवास नेम्वाङको प्रथम स्मृति दिवस कार्यक्रमा उहाँले उक्त घोषणा गर्नुभएको हो ।
‘जनताले बनाएको संविधानको नेतृत्व सुवासजीले गर्नुभएको थियो, उहाँ कुर्सीमा मात्र बस्नुभएको थिएन, वैचारिक नेतृत्व पनि गर्नुभएको थियो’, ओलीले भन्नुभयो, ‘उहाँको स्मृतिलाई ताजै राख्न र उहाँका आदर्शहरूलाई पछ्याएर केही काम गरिरहनका लागि सुवासचन्द्रजीका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गर्दछु ।’
प्रधानमन्त्री ओलीले पुष्पलाल प्रतिष्ठानलाई माधव नेपालले कब्जा गरेको आरोप पनि लगाउनुभयो । एमालेबाट अलग्गिएर जाँदा पुष्पलाल प्रतिष्ठान पनि बोकेर लगेको उहाँको आरोप छ ।
‘पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो, खेलो फड्को गर्दै माधव नेपालजस्ता मान्छेहरु अध्यक्ष भए । पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी प्रपर्टी जस्तो भयो', ओलीले आक्रोश पोख्दै भन्नुभयो, 'पुष्पलालजी फुट्नु भएको हो र ? पार्टीबाट माधव नेपाल पो फुट्नुभएको हो त । पुष्पलाल होइन नि । अनि पुष्पलाल प्रतिष्ठान नै बोकेर लिएर जाने ?’
त्यस्तै कतिपयले मदन भण्डारी स्कुल खोलेर दुरुपयोग गरेको पनि उहाँको दावी छ । ‘अर्को एक जनाले मदन भण्डारी अन्तर्राष्ट्रिय स्कुल भनेर खोल्या छ । अनि मदन भण्डारीका विचार भन्दा फरक कुराहरू सिकाउने गरेर त्यसको दुरुपयोग भएकै छ’, उहाँले थप्नुभयो ।
टिप्पणीहरू