देउवाको खुलासा- नेताहरु आत्तिएपछि एमालेसँग गठबन्धन गर्नुपर्यो

देउवाको खुलासा- नेताहरु आत्तिएपछि एमालेसँग गठबन्धन गर्नुपर्यो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरु डराएर आत्तिएपछि एमालेसँग गठबन्धन गर्नुपरेको बताउनुभएको छ । 

आज सानेपास्थित पार्टी कार्यालयमा कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकार प्रमुखहरुलाई सम्मान कार्यक्रममा उहाँको यस्तो भनाई आएको हो । विगतमा एमाले-माओवादी सरकार हुँदा पार्टीका नेता-कार्यकर्ता डराएको भएपनि अहिले त्यस्तो अवस्था नरहेको देउवाले बताउनुभयो । 

‘हिजो एमाले र माओवादी सत्तामा हुँदा हाम्रो साथीहरु चिन्तित थिए, डराएका पनि थिए, आफ्ठ्यारो मानिरहेका थिए ’, उहाँँले भन्नुभयो, ‘त्यसैले मैले पनि मान्नुपर्यो, साथीहरुको भावनाअनुसार नै मैले एमालेका अध्यक्ष केपी शर्मा ओलीजीसँग कुरा गरेर सहमतिमा पुग्यौ ।’

पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले असार १७ गते मध्यरातको सात बुँदे सहमति कार्यान्वयन हुनेमा विश्वाससमेत व्यक्त गर्नुभएको छ । छैटौँ पटक प्रधानमन्त्री बन्नेमा विश्वस्त रहँदै भन्नुभयो, ‘त्यो सहमतिअनुसार अहिले ओलीजी प्रधानमन्त्री हुनुहुन्छ, अनि दुई वर्षपछि उहाँले मलाई छोड्दिनुहुन्छ ।’

सभापति देउवाले प्रतिपक्ष र साना दलहरुलाई सत्ता गठबन्धनसँग नतर्सिन आग्रहसमेत गर्नुभयो । ‘अरु पार्टीका साथीहरुले दुई वटा पार्टी मिलेर साना पार्टी सिध्याउदैछन् भन्नुहोला, चिन्ता गर्नुहोला, तर त्यस्तो हैन', नेकपा माओवादीतर्फ संकेत गर्दै भन्नुभयो,'हाम्रो नीति अरुलाई सिध्याउने हैन । र मलाई विश्वास छ ओलीजीको पनि त्यस्तो कुरा छैन ।’

एमालेसँग मिलेर सरकार बनाएसँगै पार्टी छोड्नेहरु कांग्रेसमा फर्किने क्रम शुरु भएको जनाउँदै उहाँले देशभर कार्यकर्तापंतिमा उत्साह छाएको दाबी पनि गर्नुभयो । आफ्नो उमेरका कारण पनि पार्टीबाट विदा लिने बेला आएको भन्दै देउवाले पार्टीको चिन्ता भविष्य भएको नेताहरुले नै बढ्ता गर्नुपर्नेमा जोडसमेत दिनुभयो ।

'अहिलेको बेलामा एमाले र काँग्रेसको बीचमा सहमति भएको छ । यसले हाम्रोबाट अरु पार्टीमा गएकाहरु पनि फर्किंदैछन् । अझै फर्काउने काममा लाग्नुपर्छ । धेरै पार्टीले हामीलाई कमजोर बनाउन खोजकै हो । हाम्रो पार्टी कमजोर बनाउनेहरु अझै छन् । हामीले सबैलाई एक गरेर बलियो पार्टी बनाउनु पर्छ', देउवाले भन्नुभयो, 'मेरो एज पनि गयो । हरेक कारणले पनि रिटायरमेण्टको बेला भइसकेको छ । भोलि हुने नेताहरुले नै चिन्ता बढी गर्नुपर्छ । मलाई भन्दा बढ्ता चिन्ता गर्नुपर्छ ।’

टिप्पणीहरू