खाद्यान्न आपूर्ति सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

खाद्यान्न आपूर्ति सहज बनाउन उद्योगमन्त्रीको निर्देशन
सुन्नुहोस्

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वमा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन साल्ट ट्रेडिङ कर्पोरेसनलाई निर्देशन दिनुभएको छ । 

चाडबाडमा उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अस्वभाविक मूल्यवृद्धि हुन नदिन कर्पोरेसनले बजारमा गतिलो हस्तक्षेप गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कर्पोरेसनको ६२ औं वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै मन्त्री भण्डारीले भन्नुभयो, ‘अब दैनिक उपभोग्य वस्तुको अभाव हुदैँन, साल्ट ट्रेडिङ हाम्रो साथमा छ भनेर आम जनतालाई विश्वास दिलाउनुपर्छ ।’ 

सेवा प्रवाह, बजारीकरण, दायरा र व्यापार वृद्धि गर्न प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने सुझाव दिँदै उहाँले रासायनिक मलको सहज आपूर्तिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । 

‘साल्ट ट्रेडिङ यस्तो ब्राण्ड बनोस् कि नामै काफी होस्, यसको उत्पादन आफ्नै ब्राण्ड बनोस्,’ मन्त्री भण्डारीले भन्नुभयो । उहाँले संस्थाको व्यवसाय विस्तारका लागि योजना बनाउन व्यवस्थापन र कर्मचारीलाई पनि निर्देशन दिनुभयो । 

उद्योगमन्त्री भण्डारीले अत्यावश्यक वस्तुको अभाव हुन नदिनतर्फ सदैव सचेत हुनुपर्ने उल्लेख गर्दै भन्नुभयो, ‘कर्पोरेसनले भरपर्दो आपूर्ति श्रृङ्खला बजारमा गतिलो हस्तक्षेप बजार मूल्यमा समायोजन र गुणस्तरीय वस्तुको सहज उपलब्धतामा ध्यान दिनुपर्छ ।’

कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले गुणस्तरीय दैनिक उपभोग्य वस्तु सर्वसुलभ मूल्यमा जनताको घरदैलोमा पुर्याउन क्रियाशील रहेको बताउनुभयो । उहाँले आगामी दिनमा संस्थाको सेवा र व्यवसाय थप विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले चाडपर्वमा दैनिक उपभोग्य वस्तु नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, ग्याँसलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएको जानकारी गराउनुभयो । 

यो वर्ष कर्पोरेसनले वार्षिकोत्सवमा माध्यमिक शिक्षा परिषद् (एसईई) मा उत्कृष्ट अंक ल्याउने कर्मचारीका दुई सन्ततिलाई छात्रवृत्ति प्रदान गरेको छ । यस्तै, एक लाख रुपैयाँ राशीको ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ बाट मानव कल्याण समाज काभ्रेपलाञ्चोकलाई पुरस्कृत गरिएको छ । 

वार्षिकोत्सवमा कर्पोरेसनका विभिन्न कार्यालयमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्नुका साथै २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीलाई कदरपत्र प्रदान गरिएको जनाइएको छ ।
 

टिप्पणीहरू