प्रधानमन्त्रीलाई पुनको चेतावनी : संख्याको बलमा जथाभावी नगर्नू

प्रधानमन्त्रीलाई पुनको चेतावनी : संख्याको बलमा जथाभावी नगर्नू

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संख्याको बलमा धाकधम्की नदिन चेतावनी दिएका छन् । 

जनताले संसदीय गणितभन्दा सरकार र राजनीतिक दलका गतिविधि हेरिरहेको जनाउँदै उनले यसलाई सामान्य नठान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराए ।

पोस्टबहादुर बोगटी स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पुनले भने, ‘शाषकहरुले मात्र हो, संसदको गणितको ख्याल गर्ने । जनतालाई संसदीय गणितको कुनै अर्थ हुदैन । जनताले त उसको काम, व्यवहार, नेतृत्व कस्तो छ, त्यो कुरालई हेर्छन् । प्रधानमन्त्रीज्यूलाई सचेत गराउन चाहन्छु, तपाई जिम्मेवार ठाउँमा हुनुहुन्छ । तर जनताको चेतनास्तरलाई कमजोर नठान्नुहोला’, उनले थपे ।

कांग्रेस र एमालेमा विकृतिको डंगुरबाहेक अरु केही नभएको दाबी गर्दै उनले पछिल्लो समय जनतामा माओवादीको ग्राफ बढिरहेको बताए । माओवादीले २०८४ को निर्वाचन जित्ने उनको जिकिर छ ।

‘केही पात्रहरुले ०८४ को निर्वाचनलाई विश्लेषण गरेर दिवास्वपना देखिरहेका छन्, हाम्रो संख्या गनिरहेका छन्’, उनले भने, ‘बरु पछिल्लो समय जनतामा माओवादीको ग्राफ माथि छ, कांग्रेस र एमाले पुरानो संसदवादी पार्टी हुन्, विकृतिका डुंगुरमात्रै छ, यो कुरा आम मान्छेलाई महशुस भइरहेको छ ।’ 

राजनीतिक पार्टीको सदस्य संख्या केही तलमाथि भए पनि जनातामा जाँदा एजेण्डाले फरक पार्ने पुनको भनाई छ । ‘यथार्थमा माओवादीको ८ लाख सदस्य छन् । कांग्रेस र एमालेले १०/१२ लाख छन् भनेर दावी गर्छन् । जे भए पनि जनतामा जाँदा यो एकैखालको हो ।’

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीविरुद्धको नारा जुलुस हुने गरेको स्मरण गर्दै उनले सच्चिन आग्रह गरे । भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने तर वरपर भ्रष्टहरुलाई राख्ने गरेकाले प्रधानमन्त्रीलाई जनताले विश्वास नगरेको पुनले बताए । 

‘सामाजिक कार्यक्रममा हेर्नुस्, प्रधानमन्त्रीलाई अतिथि बोलाएपछि सम्मान गर्नुपर्ने हो । तर, त्यहाँ विरोध गरेर किन कालो झण्डा देखाइन्छ ? किन नारा जुलुस हुन्छ ? कसले देखाउने हो प्रधानमन्त्रीलाई ऐना ? कि तपाईको मुहारमा कालो पोतिएको छ । म भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भन्नुहुन्छ । अनि दायाँवायाँ दर्जनौँ भ्रष्टाचारको अभियोग लागेका मान्छेलाई राखेर हिँड्नुहुन्छ’, उनले भने ।

 

टिप्पणीहरू