शरणार्थी प्रकरणको सुई बूढानीलकण्ठ र बालकोटतिर सोझिएको प्रचण्डको खुलासा
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारी जोगाउन चाहनेहरुले आफू नेतृत्वको सरकारलाई रातारात ढालेको दाबी गर्नुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्तहरु पक्राउ गरेपछि र गिरीबन्धु टि–स्टेटका सम्बन्धमा सर्वोच्च अदालतसमेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दा षड्यन्त्रमूलक ढंगले आफूलाई सरकारबाट हटाइएको बताउनुभयो । झापामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले संसारमा संसदका दुई ठूला दल मिलेर सरकार बनाउने अभ्यास नभए पनि भ्रष्टाचारीलाई जोगाउनकै लागि काँग्रेस र एमाले मिलेको आरोप लगाउनुभयो ।
‘जब नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरु फरार थिए, ती अभियुक्तहरु गिरफ्तार गरिएपछि र गिरीबन्धु टि–स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी’, प्रचण्डले भन्नुभयो, ‘मैले भनेको छु, सुई बूढानीलकण्ठ र बालकोटतिर सिधै सोझियो । दुई जनालाई मात्रै गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार जोडियो, बालकोट र बूढानीलकण्ठतिर । र रातारात षड्यन्त्रमुलक ढंगले संसारमा सामान्य रुपमा हुँदै नहुने प्रतिनिधि सभाको सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने काम भयो ।’
उहाँले बालकोट र बूढानीलकण्ठ भनेर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई संकेत गर्नुभएको हो । भुटानी प्रकरणमा पक्राउ परेका केही प्रतिवादीले काँग्रेस सभापति देउवापत्नी तथा हालका परराष्ट्रमन्त्री आरजू राणा देउवा र प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको नाम पनि पोलेको चर्चा थियो ।
यस प्रकरणका फरार आरोपित बेचन झा र एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ परेको भोलिपल्ट गत असार १५ गते देउवा र आरजु ओलीलाई भेट्न अकस्मात बालकोट पुगेका थिए । त्यसको दुई दिनपछि असार १७ गते मध्यराति १२ बजे दुई ठूला दलबीच सत्ता सहकार्यको सहमति भएको थियो ।
टिप्पणीहरू