वामपन्थीहरुलाई मिलाउने चिनियाँ नीतिप्रति गगन थापा असन्तुष्ट

वामपन्थीहरुलाई मिलाउने चिनियाँ नीतिप्रति गगन थापा असन्तुष्ट

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका राजनीतिक दलप्रति चिनियाँ दृष्टिकोण स्पष्ट नभएको बताएका छन् । पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । 

एकातिर चीनले नेपालका सबै दलसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने अनि अर्कोतिर वामपन्थीहरु मिलाउन खोज्ने चिनियाँ नीति अमिल्दो रहेको थापाको टिप्पणी छ । काँग्रेस कार्यकर्ता भएर हेर्दा आफूले चीनको यस्तो नीति बुझ्न नसकेको उनले बताए ।

दुवै देशले एक अर्कालाई बुझ्न नसकेको कुरा शर्माको पुस्तक पढेपछि पनि स्पष्ट हुने थापाको बुझाई छ । ‘म नेपाली काँग्रेसको कार्यकर्ता, चीनको सरकारले आएर के भन्छ भने सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्छ । त्यही चीनको सरकारी मान्छे फेरि एकछिनपछि दुईवटा वामपन्थी पार्टी मिल्नुपर्छ भन्छ’, उनले भने, ‘मैले यता हेरेँ सरकार देख्छु, उता हेरेँ पार्टी देख्छु, अलमलमा पर्ने भएँ । त्यसैले मैले चीनलाई कसरी बुझ्छु होला ? चीनले मलाई बुझेको जस्तै । यो सन्दर्भ उठाउनुभएको कुरा नेपाली काँग्रेसको कार्यकर्ता भएर हेर्दै गर्दा ठीकै हो भन्ने लाग्यो ।’

 

राजनीतिक दल र संवैधानिक शक्तिहरु एक ठाउँमा उभिएर नेपालमा संविधान मान्ने जुनसुकै दललाई चीनले विश्वास गर्नसक्ने वातावरण बनाउनुपर्ने पुस्तकमा उल्लेखित सन्दर्भबारे थापाले चर्चा गरे ।

टिप्पणीहरू